काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कांग्रेसको विशेष महाधिवेशनमा अघि सारिएको दस्ताबेजमाथि प्रश्न उठाएका छन् ।
गगन थापाको नाम नलिईकन उनलाई नै लक्षित गरेर ज्ञवालीले संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई जायज ठहर्याउन थालियो भने कहाँ पुगिएला ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्– ‘नेपाली काँग्रेसको विशेष महाधिवेशन जारी छ ।
त्यहाँ चलिरहेका बहस, विमर्श र विवादलाई नजिकबाट नियालिरहेको लोकतान्त्रिक आन्दोलनको सहयात्रीको हैसियतले हाम्रो यौटै कामना छ– मतभेदलाई सुझबुझपूर्ण ढङ्गले समाधान गर्दै नेपाली काँग्रेस अझ एकताबद्ध र सुदृढ बन्न सकोस् ।
तर कतिपय नेताका अभिव्यक्ति र पेस गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गम्भीर छ । त्यो हो– भदौ २४ गते मुलुकमा भएको विध्वंस र त्रासदीप्रति रहस्यमय मौनता या तुष्टिकरण । ‘
ज्ञवाली थप भन्छन्– ‘सत्य हो-समाजमा असन्तुष्टि थियो । सत्य हो– युवाहरूसँग समाज, सत्ता र संस्थाहरूको दूरी एक हदसम्म बढेको थियो । त्यो असन्तुष्टि भदौ २३ गते पूर्वाह्नमा भद्र प्रदर्शनमा प्रकट भएको थियो ।
तर अपराह्नपछि त्यो प्रदर्शन न आयोजकहरूले भनेजस्तो शान्तिपूर्ण रह्यो, न उनीहरूको नियन्त्रणमा नै । प्रदर्शनभित्र घुसपैठ गरेर त्यसलाई रक्तपातमा रूपान्तरण गर्ने र युवाहरूलाई मानवढाल बनाउने कृत्यमा संलग्नहरूलाई पनि ’जेन्जी आन्दोलनकारी‘ ठान्ने हो र त्यसकै आडमा भोलिपल्ट भएको देश दहनलाई पनि प्रकारान्तरले उचित ठहर्याउने हो भने त्यस अपराधलाई वैधता दिएको ठहर्छ ।’





















प्रतिक्रिया