काठमाडौं । नेकपा (एमाले)ले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीका धेरै चर्चित र प्रभावशाली नेताहरूले टिकट पाउन सकेनन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका पूर्वमन्त्रीदेखि केन्द्रीय तहका नेतासम्म टिकट सूचीबाट बाहिर परेपछि एमालेभित्रै हलचल देखिएको छ।
टिकट नपाउनेमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, पूर्व मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र राजन भट्टराई रहेका छन्।
यसैगरी ठाकुर गैरे, कर्ण थापा, ऐन महर, नर बहादुर धामी, झपट रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, छविलाल विश्वकर्मा, निरज आचार्य, गोकुल बास्कोटा, विशाल भट्टराई र लालबाबु पण्डित पनि टिकटबाट वञ्चित भएका छन्।
पार्टीले ‘नयाँ अनुहार, क्षेत्रीय सन्तुलन र संगठनात्मक मजबुती’लाई आधार बनाएर उम्मेदवार छनोट गरिएको दाबी गरे पनि प्रभावशाली नेताहरूको बहिर्गमनले एमालेभित्र असन्तुष्टि बढाएको छ। कतिपय नेताहरूले आन्तरिक छलफल नगरी एकपक्षीय रूपमा टिकट बाँडिएको आरोप लगाइरहेका छन्।
टिकट नपाएका नेताहरूको भावी भूमिका के हुने भन्ने विषयमा पार्टीले औपचारिक धारणा सार्वजनिक नगरेको भए पनि यस निर्णयले एमालेको आन्तरिक राजनीति र निर्वाचन रणनीतिमा असर पार्ने अनुमान गरिएको छ।





















प्रतिक्रिया