Logo

राजनीति

गगन थापाको नेतृत्वको प्रशंसा गर्दै कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्नेमा नेता रुँगटाको जोड



विरगंज । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य अनिल रुँगटाले पार्टीभित्र एकता अपरिहार्य रहेको बताउँदै वर्तमान नेता गगन थापाको नेतृत्वको खुलेर प्रशंसा गरेका छन् ।

पर्सा क्षेत्र नं. १ मा आज आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता रुँगटाले विगतको नेतृत्वले बदलिँदो राजनीतिक परिवेशलाई समयमै बुझ्न नसक्दा पार्टी अहिलेको अवस्थामा आइपुगेको टिप्पणी गरे। इतिहासको योगदानलाई सम्मान गर्दै वर्तमान आवश्यकताअनुसार अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

पर्सा क्षेत्र नं. १ का जनताको शिर ठाडो पार्ने सक्षम र विश्वासिलो नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा टिकट जसले पाए पनि नेपाली कांग्रेस एकढिक्का भएर चुनावी प्रतिस्पर्धामा उत्रिनुपर्नेमा जोड दिए ।

नेता रुँगटाले वीरगंजको वर्तमान आर्थिक अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे। उनले व्यापार–व्यवसाय डावाँडोल बन्दै गएको र यहाँको व्यवसाय क्रमशः बुटवल–भैरहवा क्षेत्रतर्फ सर्दै गएको बताए । साथै, सदियौंदेखि आपसी सद्भाव र मेलमिलापका साथ बस्दै आएको समाजमा फाटो ल्याउने तत्वहरू सक्रिय हुँदै गएकोप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

उनले पार्टी नेतृत्वले स्थानीय समस्या, आर्थिक गतिविधि र सामाजिक सद्भाव जोगाउने विषयलाई प्राथमिकतामा राखेर स्पष्ट योजना सहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १३:५३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।