Logo

राजनीति

दोलखा कांग्रेसमा शिवाकोटी, कोइराला र श्रेष्ठ लबिङमा, कुन्दनको पनि चर्चा



काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलका नेताहरु आधिकारिक उम्मेदवारका लागि दौडधुपमा छन् । अधिकांश जिल्लाका आकांक्षीहरु यतिबेला काठमाडौंमा केन्द्रित भएका छन् ।

विशेषगरी दोलखा कांग्रेसको टिकट हत्याउन शक्ति प्रदर्शन र दौडधूप तीव्र बनेको छ। अजयबाबु शिवाकोटी, ताराबहादुर कोइराला र प्रभुराम श्रेष्ठ आधिकारिकताका लागि दौडधुपमा छन् ।

नेताहरू राजधानीका विभिन्न शक्तिकेन्द्रमा धाउँदै आफ्नो दाबेदारीलाई सुरक्षित गर्न रणनीतिक लबिइङमा व्यस्त छन्, जसले गर्दा चुनावी सरगर्मीले नयाँ उचाइ लिएको छ।

यस पटकको टिकट वितरणमा पार्टीभित्रका प्रमुख गुटहरूको सीधा टकराव र प्रभाव देखिन्छ। टिकटका मुख्य तीन दाबेदारहरू पार्टीका तीन फरक प्रभावशाली नेताका निकट मानिन्छन् जहाँ अजयबाबु शिवाकोटी सभापति गगन थापाको विश्वासपात्रका रूपमा अघि बढेका छन् भने ताराबहादुर कोइराला डा.शेखर कोइराला समूहको भरोसाका साथ मैदानमा छन्।

अर्कातर्फ, प्रभुराम श्रेष्ठलाई निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको बलियो साथ र समर्थन रहेको बुझिन्छ। यी तीनै नेताको व्यक्तिगत सक्रियता र उनीहरू आबद्ध गुटको शक्ति सन्तुलनले नै टिकटको अन्तिम फैसला गर्ने देखिन्छ। दोलखा कांग्रेसका लागि प्रदेश मन्त्री भइसकेका कुन्दन काफ्ले पनि निर्णायक बन्ने देखिन्छ ।

त्रिपक्षीय प्रतिस्पर्धाको बीचमा अर्को एउटा बलियो सम्भावनाका रुपमा प्रदेश सांसद काफ्लेलाई राजीनामा गराएर केन्द्रमा ल्याउने नीति अख्तियार गरेमा उनको संभावना पनि बलियो छ । काफ्लेको प्रवेशले हालको स्थापित समीकरणलाई चुनौति दिँदै दोलखाको चुनावी मैदानमा नयाँ मोड ल्याउन सक्ने आंकलन गरिएको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १६:४१   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।