Logo

समाचार

हेटौँडामा मन्त्रीले लगाइदिए बोकालाई माला



मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले हेटौँडामा एक बोकालाई माला लगाइदिएका छन्।

पाँचौँ बाख्रा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्ने क्रममा उनले बोकालाई सयपत्री फूलको माला लगाइदिएका हुन्।

मन्त्री पौडेलले हेटौँडा–३ स्थित सिमलथली एग्रो प्रालिमा पालिएको बोकालाई माला लगाएर कार्यक्रमको सुरुआत गरे। कार्यक्रम उद्घाटनपछि ‘नेपालमा बाख्रापालन व्यवसायको सम्भावना र चुनौती’ विषयक गोष्ठीमा बोल्दै मन्त्री पौडेलले अब सरकारले कृषकलाई दिने अनुदान उत्पादनमा आधारित हुने बताए।

विगतमा प्रदेश सरकारले वितरण गरेका अनुदान वास्तविक किसानको हातमा भन्दा कागजी प्रक्रिया मात्र पुर्‍याउने गैरकिसानको पोल्टामा परेको गुनासो आएपछि मन्त्रालयले नीति फेरेको उनले प्रस्ट पारे।

सरकारबाट पैसा मात्र असुल्ने तर काम नगर्ने मनोविज्ञान बढेकाले अब उत्पादनमा आधारित भएर, शिक्षित युवाले सञ्चालन गरेका फर्म र ब्याज अनुदानमार्फत मात्र सहयोग गरिने उनले बताए।

सोही कार्यक्रममा नेपाल बाख्रापालक व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद सुवेदीले सरकारी कार्यविधिले वास्तविक किसानलाई भन्दा नक्कली किसानलाई सघाएको आरोप लगाए।

उनले कार्यविधिमा किसानलाई दुःख दिने झन्झटिलो प्रक्रिया राखिएकाले कृषकमुखी कार्यक्रम असफल भएको टिप्पणी गरे। सुवेदीले बाख्राको बडकौलाबाट प्राङ्गारिक मल बनाएर बेच्दा मात्र पनि दाना खर्च उठ्ने सम्भावना भए पनि सरकारले मल प्याकेजिङ र बजार व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार ०९:२३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।