काठमाडौं । जेनजी आन्दोलनका सहिदका सन्तानका लागि गोल्यान ग्रुपले घोषणा गरेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत शुक्रबार तीन बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाका अवसरमा काठमाडौं, पोखरा र सिरहा (लहान)मा उनीहरूले शैक्षिक यात्राको पहिलो पाइला सुरु गरेका हुन् । गोल्यान ग्रुपले २४ असोजमा सहिदका बालबालिकाका लागि कक्षा १२ सम्मको शैक्षित्रवृत्ति योजना घोषणा गरेको थियो ।
उक्त योजनामा ३४ बालबालिका आबद्ध छन् । तीमध्ये विद्यालय भर्ना हुने उमेर पुगेका तीन जनाले शुक्रबार अक्षरारम्भ गरेका हुन् ।
काठमाडौंको बानियाँटारस्थित काठमाडौं युरो स्कुलमा नेल्सन पराजुली, पोखराको रानीपौवास्थित अर्ली चाइल्डहुड एकेडेमीमा एनिक गुरुङ र सिरहा लहानस्थित स्कुल अफ स्कलरमा विवांशी चौधरीले अक्षरारम्भ गरेका हुन् । तीनै बालबालिका २ वर्षका छन् ।
काठमाडौं युरो स्कुलमा आयोजित अक्षरारम्भ समारोहमा गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यानले बालबालिकाका अभिभावकले देशका लागि दिएको बलिदानीको सम्मान गर्न सामाजिक जिम्मेवारी ग्रहण गरेको बताए । ‘हाम्रो सहयोग दया वा उपहार होइन, जिम्मेवारी हो, हामी बालबालिकाको शिक्षामा दीर्घकालीन रूपमा साथ दिन चाहन्छौं,’ उनले भने, ‘बालिबालिकाहरू पढेर डाक्टर, इन्जिनियर, शिक्षक, उद्यमी जे बन्न चाहन्छन, त्यो बन्न सकुन्, उनीहरूको सफलताले परिवारमात्र होइन, देशलाई बलियो बनाउने छ ।’
अक्षरारम्भ समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्यानले पराजुलीको एक वर्षको शैक्षिकवृत्ति रकम ३ लाख ७६ हजार रुपैयाँको चेक विद्यालयलाई प्रदान गरेका छन् ।
ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एन्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रेका अनुसार शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक बालबालिकाको मासिक ४० हजारका दरले अधिकतम वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च बेहोर्ने गरी सहिद परिवार, सम्बन्धित विद्यालय र गोल्यान ग्रुपबीच त्रिपक्षीय सम्झौता भएको छ ।
काठमाडौं युरो स्कुलका अध्यक्ष प्रमोद पाण्डेले जेनजी आन्दोलनका सहिदका बालबालिकाको शिक्षाको जिम्मेवारी बहन गरेर गोल्यान ग्रुपले समाजप्रतिको आफ्नो दायित्व र जिम्मेवारी अझ फराकिलो बनाएको बताए ।
पोखरामा आयोजित अक्षरारम्भ समारोहमा अर्ली चाइल्डहुड एकेडेमीका प्रिन्सिपल सालभी बास्तोला मसानीले सहिदका सन्तानका लागि गोल्यान ग्रुपले गरेको सहयोगले विद्यालय परिवारलाई पनि थप जिम्मेवार महसुस गराएको बताइन् ।
लहानको स्कुल अफ स्कलरमा विवांशीलाई भर्ना गरेपछि उनका ठूलो बुबा अजय चौधरीले भाइ (सहिद विजय चौधरी)ले छाडेर गएको सपना पूरा हुने विश्वास व्यक्त गरे ।




















प्रतिक्रिया