Logo

खेलकुद

स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल



काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्‍ने सम्भावना समाप्त भएको हो।

१४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ६८ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ सकियो । कप्तान इन्दु बर्मा चोटका कारण बीचमै मैदान छाडेपछि फर्किइनन् ।

नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन बनाए । रुबिना क्षेत्रीले १० रन बनाइन् ।

स्कटल्यान्डका लागि अब्ताहा मकसुदले ३ विकेट लिइन् । कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २-२ तथा ओलिभिया बेल र रचेल स्लेटरले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेको थिएन । पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९-६ को अवस्थामा पुर्‍याएको भएपनि स्कटल्यान्डले ब्याटिङमा पुनरागमन गर्‍यो ।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।

नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले १-१ विकेट लिए ।

 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १२:०२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।