काठमाडाैं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको बलमा बनेको सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउँदैछ । निर्वाचनमा भाग लिने उम्मेदवारहरुको उम्मेदवारी दर्ता भइसकेको छ । सबै उम्मेदवारको आ–आफ्नो एजेण्डा छ । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट एक जना पत्रकारले पनि उम्मेदवारी दिएका छन् । उनी हुन्, भुम्लु गाउँपालिका–२, सिम्थलीका उमेश थापा । स्नातक सकाएका थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । उनको चुनाव चिन्ह ठेकी रहेको छ । देश र जनताका लागि कलम चलाउँदै आएका थापाको उम्मेदवारी, एजेण्डालगायतको विषयमा गरेको कुराकानीको संक्षिप्त अंशः
पत्रकारिता गरिरहनुभएको व्यक्ति किन राजनीतिमा होमिनुभयो ?
देश र जनताको कुरा सरोकारवालासम्म पुर्याउनु पत्रकारिता हो । पत्रकारिता सेवा हो । राजनीति पनि पत्रकारिताजस्तै सेवा नै हो । जनताका समस्याका विषयमा कलममार्फत मैले धेरै आवाज उठाए । तर, सरकारले ती कुरा ढिलो सुन्दो रहेछ । सदनमा गएर प्रत्यक्ष रुपमा जनताको आवाज उठाउनका लागि म राजनीतिमा होमिएको हुँ । म हिजो पनि जनताकै कुरा उठाउने मान्छे भएकाले यो यात्रालाई निरन्तरता दिन चाहन्छु । त्यसैले मैले यसपटक स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।
पत्रकारहरु सबै राजनीतिक दलमार्फत चुनाव लडिरहँदा तपाईँ किन स्वतन्त्र ?
मैले पहिलेपनि कुनै राजनीतिक दलको सदस्यता लिएको थिइन । म स्वतन्त्र भएर आफ्नो कर्तव्य निर्वाह गरिरहेको थिए । अहिलेपनि म कुनै पार्टीमा छैन । तपाईँलाई त थाहा छँदै छ, पार्टीबाट टिकट पाउनका लागि पैसा खर्चिन सक्नुपर्छ । चुनावमा ठूलौ खर्च गर्नुपर्छ । म त्यसरी चुनाव लड्न सक्दिन । मसँग चुनावमा खर्चिनलाई पैसा छैन । पार्टीलाई पैसा दिएर वा ठूलो खर्च गरेर चुनाव लड्नेहरु भोलि कुर्सीमा पुगेपछि त्यो उठाउनमा केन्द्रित हुन्छन् । र, आजसम्म भएको पनि त्यहीँ नै हो । मलाई आफ्नो बुद्धि, विवेक र भिजनले जनताको सेवा र समस्या समाधान गर्नुछ । त्यसका लागि पार्टी नै चाहिन्छ भन्ने छैन ।
तपाईँको उम्मेदवारी किन ?
मैले उम्मेदवारी दिनुको पछाडि धेरै कारण छन् । काभ्रेपलाञ्चोक काठमाडौं उपत्यकासँग जोडिएको जिल्ला हो । यहाँबाट देशको राजधानी पुग्न धेरै समय पनि लाग्दैन । तर, देशको राजधानीसँग जोडिएको जिल्लाको अवस्था दयनीय छ । निर्वाचन क्षेत्र नम्बर २ मा सात वटा पालिका पर्छ ।
न ती पालिकामा राम्रो बाटोघाटोको सुविधा छ न यातायातको । जनता आधारभूत आवश्यकताबाट समेत वञ्चित छन् । स्वास्थ्य, शिक्षा, रोजगारीको सुविधा छैन । स्वास्थ्य चौकी छन्, तर सिटामोलबाहेक अन्य औषधी पाइँदैन ।
उच्च शिक्षा अध्ययनका लागि जिल्लाको सदरमुकाम आउनुपर्छ । स्कूल जान अझैपनि लामो यात्रा गर्नुपर्छ । सरकारी विद्यालयमा दक्ष शिक्षकहरुको अभाव छ । रोजगारीका लागि विदेश नै जानुपर्ने बाध्यता छ । गाउँ रित्तिँदै गएको छ, खेतबारी बाँझै छ । क्षेत्र नम्बर २ को कतिपय ठाउँमा अहिलेपनि फोनको नेटवर्क टिप्दैन । एउटा फोन गर्नका लागि टाढा–टाढा पुग्नुपर्छ । समस्या धेरै छन्, तर समाधान गरिदिने छैनन् । यी यावत् समस्या आफ्नो क्षमता, भिजन, बुद्धि र विवेकले समाधान गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ ।
तपाईँसँग त्यस्ता के एजेण्डा छन् कि त्यहाँका जनताले तपाईँलाई पत्याउँछन् ?
सर्वप्रथम त म एउटा युवा हो । २०५२ माघ २६ गते जन्मिएको म भर्खँरै ३० वर्षको भए । अरु सबै विदेश पलायन भइरहँदा म देशमै बसे । पत्रकारिताबाट देश र जनताको हितमा आवाज उठाइरहे । अब पनि मैले गर्ने त्यहीँ नै हो । विगतमा पटकपटक यहाँका जनताले राजनीतिक दलबाट उठेका उम्मेदवारलाई चुनाव जिताएर पठाए ।
तर, ती उम्मेदवारले जनताको मतको कदर गरेको देखिएन । यस क्षेत्रलाई उहाँहरुले कमाउने थलो मात्र बनाउनुभयो । भोट लिनुभयो, काठमाडौंमा घर बनाएर बस्नुभयो । उहाँहरुले काम गर्नुभएको भए, उपत्यकासँग जोडिएको जिल्ला धेरै विकसित भइसक्थ्यो । पत्रकारिता पेशामा रहँदा मैले जनताको समस्याको अध्ययन गरेको छु ।
जनताका के–के समस्या छन् ? मलाई थाहा छ । म गरेर देखाउने मान्छे हुँ । जनताले मलाई विश्वास गर्नुभयो भने उहाँहरुको मत खेर जान दिने छैन । उहाँहरुकै साथ–सहयोगमा म यस क्षेत्रको विकासमा लाग्नेछु ।
अघि तपाईँले भन्नुभयो कि नेताहरुले क्षेत्र नम्बर २ लाई कमाउने थलो मात्र बनाए, तपाईँले पनि त्यसै त गर्नुहुन्न ?
यस क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनाव जिते । कहिले काँग्रेस, कहिले एमाले त कहिले माओवादी । स्वर्गीय नेता गोविन्दनाथ उप्रेतीबाहेक सबैले यस क्षेत्रलाई कमाउने थलो बनाए । उप्रेतीले न काठमाडौंमा घर बनाउनुभयो न गाउँ छोड्नुभयो । आफ्नो जीवनको अन्तिम समयमा पनि उहाँ गाउँमै हुनुहुन्थ्यो ।
तर, अरु नेताले त्यसो गर्नुभएन । नेताहरुले काम गर्नुभएको भए, सायदै मैले उम्मेदवारी दर्ता गर्थें होला । अहिले मसँगै उम्मेदवारी दिनुभएका प्रायः उम्मेदवारले काठमाडौंमा घर बनाउनुभएको छ । उहाँहरु चुनाव जितेपनि जिल्ला जानुहुन्न । हामीकहाँ चुनाव हुँदा गाउँमा जाने, भोट माग्ने र फर्किएर नहेर्ने प्रवृत्ति छ ।
तर, मबाट त्यसो हुँदैन । मेरो काठमाडौंमा घरजग्गा केही पनि छैन । म जिल्ला नै जान्छु । त्यहाँको जनताको सेवा गर्छु, घरजग्गा जोड्ने मोह ममा छैन । अहिले म रिपोर्ट गर्न जाँदा पैदल हिँड्छु, सार्वजनिक यातायात चढ्छु । जनताले आफ्नो प्रतिनिधि चुने भनेपनि म सार्वजनिक यातायातमै हिँड्छु । मलाई सरकारले दिने सेवासुविधा चाँहिदैन ।
तपाईँसँग पैसा पनि छैन, संगठन पनि छैन भन्नुहुन्छ । चुनावचाँहि कसरी जित्नुहुन्छ ?
तपाईँहरुले मलाई कुरा राख्ने अवसर दिनुभयो । यो कुरा जनताले पढ्नुहुन्छ । अनि उहाँहरुले नै निर्णय गर्नुहुन्छ ।
क्षेत्र नम्बर २ मा आजसम्म स्वतन्त्रले चुनाव जितेको इतिहास छैन, यत्रा दलबलसहित उठिरहँदा तपाईँलाई जित्छु भन्ने आशा छ ?
समय परिवर्तन भइसकेको छ । यहाँका जनता साक्षर हुनुहुन्छ । उहाँहरुले सही उम्मेदवार छान्नुहुन्छ भन्ने मलाई आशा छ । पार्टीभन्दा पनि आफ्नो जनप्रतिनिधि कस्तो छ ? भन्ने कुरा मुख्य हो । म भर्खरको युवासँगै काम गर्नसक्ने क्षमता र भिजन छ । त्यसैले पनि जनताले मलाई जिताउनुहुन्छ भन्ने आशा छ । मलाई दिनुभएको उहाँहरुको मत खेर जाने छैन भन्ने ग्यारेण्टी म काम गरेर दिनेछु ।
चुनाव जितेपनि स्वतन्त्रले मन्त्री पाउँछ ? कि तपाईँ पनि कुनै पार्टीमा गएर मिसिनुहुन्छ ?
म मन्त्री बन्नका लागि चुनाव लडेको मान्छे होइन । मलाई मन्त्रीको मोह छैन । सांसद भएरै मैले देश र जनताका लागि आवाज उठाउनेछु । छिमेकीले कब्जा गरेको भूभाग फिर्ताका लागि म एक्लै भएपनि आवाज उठाउँछु । वैदेशिक ऋण मिनाहा, नेपालीलाई देशमै रोजगारी, श्रमिकलाई उचित पारिश्रमिक, उद्योग, कलकारखानाको स्थापना, सरकारी सम्पत्तिको संरक्षणका लागि म बोल्नेछु । भ्रष्टाचारविरुद्ध सशक्त भएर लाग्छु । त्यसको लागि मलाई जनताको साथ चाहिन्छ, मन्त्री र कुनै पार्टीको सदस्यता होइन ।




















प्रतिक्रिया