Logo

अर्थ

महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा ‘डे केयर’ सञ्चालन



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीलाई लक्षित गर्दै केन्द्रीय कार्यालय दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ।

विश्व स्तनपान सप्ताह २०२६ को अवसर पारेर बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीका लागि सुरक्षित, स्वच्छ, सहज र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा सुरु गरेको हो।

शिशु स्याहार कक्षको उद्घाटन महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले एक कार्यक्रमबीच गरेकी हुन्। बैंकका महिला कर्मचारीको नेतृत्व क्षमता विकास, पेशागत दक्षता तथा आत्मविश्वास अभिवृद्धि र कार्यस्थलमा समान अवसर तथा समावेशी वातावरण निर्माणमा फोरमले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बैंकले जनाएको छ।

बैंकका अनुसार महिला सशक्तिकरणसँगै कर्मचारीको कार्य–जीवन सन्तुलन, मातृत्वको सम्मान तथा कर्मचारी कल्याणलाई प्राथमिकता दिने दीर्घकालीन नीतिअनुसार शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याइएको हो।

बैंकले सबै कार्यस्थललाई मातृत्वमैत्री वातावरण निर्माणतर्फ अघि बढ्न आग्रह गर्दै कर्मचारीको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति प्रतिबद्ध रहेको जनाएको छ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार १४:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।