काठमाडौं । फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा उनलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो।
परिसरको टोली पाठकलाई लिन फिलिपिन्स पुगेको थियो।
हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको परिसरका एसएसपी रमेश थापाले जानकारी दिए। उनका अनुसार पाठकमाथि विद्युतीय कारोबार ऐन, आपराधिक लाभलगायतका विषयमा अनुसन्धान हुने बताइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तिलाई पत्र तथा भिडियो सन्देशमार्फत धम्की दिएको आरोपमा पाठकमाथि अनुसन्धान सुरु गरिएको हो।
काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठकलाई फिलिपिन्सको मालोलोस सहरबाट पक्राउ गरिएको थियो। फिलिपिन्सको ब्यूरो अफ इमिग्रेशन (बीआई)ले विज्ञप्ति जारी गर्दै उनलाई नियन्त्रणमा लिइएको जनाएको थियो।
जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट जारी ‘डिफ्युजन’ सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ। नेपाल प्रहरीको अनुरोधपछि फिलिपिन्सको इमिग्रेशनले उनलाई नियन्त्रणमा लिएको हो।
यसअघि पनि पाठक विभिन्न चार कसुरमा मुद्दा खेपिसकेका व्यक्ति रहेको खुलेको छ। प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गर्दा उनीमाथि सार्वजनिक अपराध (अभद्र व्यवहार), ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



















प्रतिक्रिया