रौतहट । गौरस्थित पर्यटन कार्यालयमा केही करिब एक महिनायता दुईजना कार्यालय प्रमुख छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय जनकपुरले फरक–फरक निर्णय गरेर एउटै कार्यालयमा दुईजनालाई प्रमुखको जिम्मेवारी तोकेपछि कसको निर्देशन मान्ने भनेर मातहतका कर्मचारी अलमलमा पर्ने गरेका छन् ।
मन्त्रालयले छैठौँ तहका इन्जिनियर कमलेशकुमार मिश्रलाई २ माघमा पर्यटन विकास कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी दिएको थियो ।
त्यसको ठिक दुई दिनपछि अर्थात ४ माघमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिवस्तरीय निर्णयले पर्यटन मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न पत्राचार गरेको थियो ।
पत्रमा मुख्यमन्त्री कार्यालयका उपसचिव रोहितकुमार कोइरालाले इन्जिनियर मिश्रको सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका थिए । उपसचिव कोइरालाले पर्यटन कार्यालय गौरको प्रमुख राजेश काफ्ले भएको बताए । ‘काफ्लेको काज फिर्ता नभएसम्म उनी नै प्रमुख हुन्,’ उनले भने, ‘यसमा केही कारण छैन । पहिले जो थिए, उनै प्रमुख हुन् ।’
पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले काजमा खटिएका पहिलेका प्रमुख काफ्लेको काज अवधि सकिएपछि मुख्यमन्त्री कार्यालयले नै २ माघमा फिर्ता गरेपछि इन्जिनियर मिश्रलाई प्रमुख बनाएको बताए ।
‘काज भनेको तीन महिनाको लागि हुन्छ । काफ्लेको काज सकिएपछि मिश्रलाई पठाएको हो । तर, निर्वाचन आचारसंहिता लागू भइसकेपछि मुख्यमन्त्रीको कार्यालयले निर्णय कार्यान्वयन नगर्नु भनेर पत्र पठाएको छ,’ उनले भने, ‘यो के गरेको हो बुझ्नै सकिएन । काफ्लेलाई नै प्रमुख भनेर तोके भै गो नी । आफैले काज सकियो भन्ने अनि अर्को पठाएर कार्यान्वयवन नगर भन्नु कत्तिको जायज होला ?’




















प्रतिक्रिया