काठमाडौं । उपभोक्ता जागरण अभियान नेपालले गाउँगाउँका विद्यालयमा पुगेर उपभोक्ता अधिकारबारे सचेतना अभियान सञ्चालन गरेको छ ।
‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ भन्ने नाराका साथ अभियानले उदयपुर र सुनसरीका सामुदायिक विद्यालयहरूमा पुगेर सचेतना कार्यक्रम चलाएको हो ।
माघ २६ गते उदयपुरको त्रियुगा नगरपालिकाका शारदा माध्यमिक विद्यालय देउरी र राष्ट्रिय मावि बगाहामा कार्यक्रम गरियो । माघ २७ गते सुनसरीको इटहरी खनारस्थित शारदा मावि र दुहबीको सरस्वती माविमा पनि जागरण अभियान सञ्चालन गरेको थियो ।
जागरण अभियान सञ्चालनका क्रममा अभियानका संस्थापक अध्यक्ष एवं उपभोक्ता अधिकारका क्षेत्रमा लामो काम गर्दै आएका मुख्य प्रशिक्षक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले वस्तु र सेवा उपभोग गर्ने उपभोक्तालाई नजगाएसम्म बिक्रेता जिम्मेवार नहुने बताए ।
मुख्य प्रशिक्षक भण्डारीले ग्रामीण क्षेत्रका गाउँबस्तीमा उपभोक्ता बढी ठगिने गरेको भन्दै उपभोक्ताहरू ठगिने अवस्थाको अन्त्य गर्न जागरण अभियान आवश्यक रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक तथा शिक्षकहरुले जागरण अभियानको प्रशंसा गर्दै यस्तो अभियान फलदायी रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपभोक्ता अधिकार, बजार व्यवस्थापन, सेवा प्रदायक, आम उपभोक्ता र उपभोक्ता अधिकारको सूचना र पैरवीबारे जिम्मेवार निकायले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।
जागरुक उपभोक्ता र जिम्मेवार बिक्रेता नारा उल्लेखित जानकारीमूलक ब्रोसर उपलब्ध गराइएको थियो ।प्रशिक्षण कार्यक्रममा उल्लेख्य संख्यामा विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, व्यवसायी लगायतको सहभागिता थियो ।
अभियानले यसअघि पनि विभिन्न जिल्लाका विद्यालयमा अभियान सञ्चालन गर्दै आएको छ । जागरण अभियानकै पहलमा काठमाडौंका तारे होटलमा हुने उपभोक्ता शिक्षासम्बन्धी कार्यक्रमलाई विद्यालय तहमा लैजान सरकारलाई बाध्य पारेको थियो । त्यस्तै अभियानको सक्रियतामा कक्षा नौ र १० को पाठ्यक्रममा पनि उपभोक्ता शिक्षा समावेश गरिएको छ ।


















प्रतिक्रिया