Logo

प्रमुख समाचार

नेप्सेले सार्वजनिक गर्‍यो मार्जिन कारोबार गर्न योग्य ११० कम्पनीको सूची (सूचीसहित)



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ब्रोकरमार्फत् कर्जा लिएर कारोबार गर्न सकिने कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०८२ आगामी फागुन १ गतेदेखि लागू हुने भएको छ।

निर्देशिका अनुसार, कम्तीमा २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत, प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर, पछिल्ला तीन वर्षमध्ये दुई वर्ष खुद नाफा, र आइपिओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएका कम्पनीहरूमा मात्र मार्जिन सुविधा उपलब्ध हुनेछ। नेप्सेले सार्वजनिक गरेको सूचीमा ११० कम्पनी छन्।

मार्जिन कारोबार अन्तर्गत लगानीकर्ताले सेयर किन्नुअघि कुल लगानी रकमको ३०% प्रारम्भिक मार्जिन ब्रोकरमा जम्मा गर्नुपर्नेछ। कारोबार अवधिभर न्यूनतम २०% मार्जिन कायम राख्नुपर्ने व्यवस्था गरिएको छ। यदि सेयरको मूल्य घटेर यो सीमा भन्दा तल पुगेमा ब्रोकरले ‘मार्जिन कल’ गर्नेछ। तोकिएको समयमा थप रकम वा सेयर जम्मा नगरेमा ब्रोकरले सेयर बिक्री गरी आफ्नो लगानी असुल गर्ने अधिकार राख्नेछ।

मार्जिन सुविधा उपलब्ध गराउने ब्रोकरको चुक्ता पुँजी कम्तीमा २० करोड रूपैयाँ हुनुपर्छ र उनीहरू राफसाफ तथा निक्षेप सदस्यका रूपमा कार्यरत हुनुपर्नेछ। ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको ५ गुणासम्म मार्जिन सुविधा दिन सक्नेछन्, तर एउटै ग्राहक वा परिवारलाई कुल सुविधाको १०% भन्दा बढी ऋण दिन पाइने छैन।

पारदर्शिता सुनिश्चित गर्न ब्रोकरले मार्क–टू–मार्केट प्रणाली अनुसार दैनिक हिसाब राख्नुपर्नेछ। यसका लागि छुट्टै खाता र डिम्याट खाता खोल्नुपर्नेछ र दैनिक कारोबार विवरण भोलिपल्टै नेप्सेलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ०९:१०   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।