Logo

विविध

एकासी अर्ब घनमिटर ग्यास भण्डारण पुष्टि



दैलेख । यहाँको भैरवी गाउँपालिका–१, जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ ।

चीनको ‘चाइना जियोलोजिकल सर्भे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदन अनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो ।

खानी तथा भू–गर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययनपछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुन सक्ने अनुमान गरिएको थियो । थप परीक्षण र अन्तिम अध्ययनले पूर्वानुमानभन्दा धेरै परिमाणमा ग्यास रहेको प्रमाणित गरेको उहाँले बताउनुभयो ।

भण्डारण पुष्टि भए पनि यसको व्यावसायिक उत्पादन र उत्खनन क्षमताको वास्तविक जानकारी भने ‘वेल टेस्टिङ’ पछि मात्र प्राप्त हुने विभागले जनाएको छ ।

प्रवक्ता खड्काले भन्नुभयो, “अहिले हामीले भण्डारणको आकार मात्र पत्ता लगाएका हौँ । वेल टेस्टिङ नगरी कति ग्यास बाहिर निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्नेबारे परीक्षण नगरेसम्म अन्तिम टुङ्गो लाग्दैन ।”

उहाँका अनुसार अबको चरणमा ‘ड्रिल’ गरिएको स्थानमा अन्य उपकरण प्रयोग गरी चट्टान फुटाउने वा प्राकृतिक ग्यासलाई विस्थापित गर्ने प्रक्रिया अपनाइने छ ।

त्यसपछि निस्कने ग्यासमा भएका तत्व प्रयोगशालामा परीक्षण गरिने छ । अनि मात्र व्यावसायिक उत्पादन प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।

नेपाल सरकार र चीनको जियोलोजिकल सर्भेबिच दुई अर्ब ४० करोड रुपियाँको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो ।

सोही अनुसार चिनियाँ टोलीले सेस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटोटेल्युरिक सर्भे र जियोकेमिकल सर्भे सम्पन्न गरिसकेको विभागका प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल प्राप्त अन्तिम प्रतिवेदनमाथि विभागले थप अध्ययन गरिरहेको छ भने बाँकी कामका लागि अनुदान सहयोग गरिदिन नेपाल सरकारले चीन सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार ०६:५२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।