Logo

समाचार

कास्की अदालतले रवि विरुद्धको मुद्दा तत्काल फिर्ता नगर्ने



कास्की । कास्की जिल्ला अदालतले रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिने आदेश दिएको छ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित यस मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले सुरुमा रवि लामिछानेसहितका प्रतिवादी विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।

त्यसपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दर्ता गरी मुद्दा फिर्ता मागेको थियो।

सोमबारको सुनुवाइमा जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको निर्णय तत्काल लागू नगर्ने आदेश जारी गरेको हो।

इजलास अधिकृत गुरूदेव आचार्यका अनुसार, सर्वोच्च अदालतमा सो निर्णयविरुद्ध रिट दायर भएकाले जिल्ला अदालतले सर्वोच्चको आदेश आएपछि मात्र मुद्दा फिर्ता गर्ने निर्णय गर्न सक्नेछ।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि रवि लामिछानेविरुद्धको सोही मुद्दा तत्काल फिर्ता नलिने आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते निर्णय गर्दै सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने आदेश दिएकी थिइन्।

तर, उक्त निर्णयविरुद्ध युवराज पौडेल (सफल)ले माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रवि लामिछाने विरुद्ध रूपन्देही, कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन्। अदालतले अब सर्वोच्च अदालतको आदेश पर्खेर मात्रै मुद्दा फिर्ता हुने निर्णय गर्न सक्नेछ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १९:२५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।