काठमाडौँ । हिजोआज कम उमेरमा मानिसमा समेत धेरै रोगहरू देखापरिरहेका छन् । हर्ट स्ट्रोकलगायत समस्या कारण अकालमै हाम्रा आसापासका मानिसहरूको मृत्यु भइरहेको छ ।
यद्यपि, जीवनको एक निश्चित चरणमा पुगेपछि हाम्रो शरीर धेरै रोगहरूको लागि संवेदनशील बनिदिन्छ । कुनै व्यक्तिको उमेर ९० वर्ष वा सोभन्दा माथि पुग्नु भनेको आफैमा एउटा महत्त्वपूर्ण उपलब्धि हो । तर यस उमेरमा शरीरको काम पहिलेजस्तै हुँदैन ।
अंगहरूको कार्य क्षमता बिस्तारै घट्छ, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र धेरै पुराना रोगहरू देखा पर्न थाल्छन् । त्यसैले आजको यस लेखमा हामी ८५ वर्षपछि सामान्यतया देखिने स्वास्थ्य समस्याहरू र तिनीहरूलाई कसरी रोक्ने भनेर कुरा गर्नेछौँ ।
हड्डी र जोर्नीमा कमजोरी
८५ वर्षपछि हड्डीहरू पातलो र कमजोर हुँदै जान्छन् । ओस्टियोपोरोसिस, जोर्नी दुख्ने र लड्ने जोखिम बढ्छ । विस्तारै लड्दा पनि हड्डी फ्र्याकचर हुन सक्छ । क्याल्सियम, भिटामिन डी र हल्का शारीरिक गतिविधि लाभदायक हुन सक्छ ।
डिमेन्सिया र अल्जाइमर
डिमेन्सिया र अल्जाइमर जस्ता समस्याहरू यस उमेरमा बढ्न सक्छन् । बिर्सने, दिग्भ्रम हुने र मुड स्विङ सामान्य हुन्छन् । मानसिक स्वास्थ्यको लागि मानसिक गतिविधि, सञ्चार र सामाजिक सम्बन्ध महत्त्वपूर्ण छ ।
मधुमेह र मिर्गाैलाको समस्या
लामो समयसम्म मधुमेह वा रक्तचापले मिर्गाैलालाई असर गर्न सक्छ । बारम्बार पिसाब लाग्ने, सुन्निने र थकान यस्ता लक्षणहरू हुन जसलाई बेवास्ता गर्नु हुँदैन ।
कमजोरी र पोषणको कमी
यस उमेरमा भोक नलाग्नु सामान्य हो । यसले पोषणको कमी निम्त्याउन सक्छ । रक्तअल्पता, तौल घट्ने र ऊर्जाको कमीले सन्तुलित आहार र पर्याप्त पानी सेवन आवश्यक बनाउँछ ।
स्ट्रोक
उच्च रक्तचाप र मुटु रोगले स्ट्रोकको जोखिम बढाउँछ । अचानक कमजोरी महसुस हुने, बोल्न गाह्रो हुने र अनुहार बाङ्गिने आदि समस्या देखिन सक्छ । तत्काल उपचारले जीवन बचाउँछ ।
पार्किन्सन रोग
८५ वर्षको उमेरपछि हात काँप्ने, सन्तुलन र हिँड्न गाह्रो हुने समस्या हुन सक्छ । यो एक स्नायु रोग हो जुन उमेर बढेसँगै झन झन खराब बन्दै जान सक्छ ।
श्रवण र दृष्टिमा समस्याहरू
मोतीबिन्दु, ग्लुकोमा र श्रवणशक्तिमा कमीले पनि बुढ्यौलीको समस्या बढाउन सक्छ । नियमित आँखा र कानको जाँचले जीवनको गुणस्तर सुधार गर्न मद्दत मिल्छ ।
यसरी गर्नुपर्छ हेरचाह
–नियमित स्वास्थ्य जाँच गर्ने
–समयमै औषधिको सेवन
–हल्का व्यायाम गर्ने
–सन्तुलित आहारको सेवन गर्ने
–परिवारबाट भावनात्मक सहयोग लिने
परिवारको ध्यान र सर–सहयोग वृद्धवृद्धाहरूको लागि सबैभन्दा ठुलो शक्ति हो । आजका चिकित्सा सुविधाहरू पहिलेभन्दा राम्रो छन् । उचित हेरचाह र समयमै उपचार गर्ने हो भने ८५ वर्षको उमेरपछि पनि स्वस्थ र सम्मानजनक जीवन बिताउन सकिन्छ ।





















प्रतिक्रिया