Logo

विविध

रुसको बैकाल तालमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु



मस्को । रुसको साइबेरियास्थित प्रसिद्ध बैकाल तालको जमेको सतहमा गुडिरहेको एक पर्यटक बस दुर्घटना हुँदा सात जना चिनियाँ पर्यटकको ज्यान गएको छ ।

शुक्रबार तालको हिउँमा परेको ठूलो चिरामा बस खसेर डुब्दा उक्त दुःखद घटना भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

रुसको विपद् व्यवस्थापन मन्त्रालयको क्षेत्रीय शाखाले जारी गरेको विज्ञप्तिअनुसार बस हिउँको करिब तीन मिटर चौडा चिरामा खसेर सिधै पानीमा डुबेको थियो ।

उद्धारकर्ताहरूले पानीमुनि चल्ने विशेष क्यामेरा प्रयोग गरेर सतहभन्दा १८ मिटर तल बस फेला पारेका थिए, जहाँबाट सातै जनाको शव निकालिएको छ ।

इर्कुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभले मृतकहरू चिनियाँ नागरिक भएको स्पष्ट पार्दै यसबारे चिनियाँ महावाणिज्य दूतावासलाई जानकारी गराइसकेको बताएका छन् ।

घटनामा एक जना यात्रु भने बस डुब्न थालेकै बेला हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।विश्वकै सबैभन्दा गहिरो तालका रूपमा चिनिने बैकाल ताल हिउँदको समयमा पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ ।

यहाँ हिउँ जमेर क्रिस्टल जस्तै देखिने भएकाले विशेषगरी चिनियाँ पर्यटकहरू ठूलो संख्यामा आउने गर्छन् ।अधिकारीहरूले तालमा गाडी चलाउन निश्चित रुटहरू तोकेका भए पनि दुर्घटना भएको क्षेत्रमा सवारी चलाउन निषेध गरिएको थियो ।

निषेधित क्षेत्रमा बस लगेकै कारण हिउँ फुटेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ भने यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार २०:३२   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।