काठमाडाैं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।
भारतीय संसद्को राज्यसभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै निमन्त्रणा गरेका हुन् । मार्च १२, १३ र १४ मा नयाँदिल्लीस्थित भारत मण्डपमा आयोजना हुने सम्मेलनको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छन् । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथि रहनेछन् ।
भारतका रेल तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका उच्च पदस्थ अधिकारीहरूले पनि कार्यक्रममा आफ्नो धारणा राख्ने तय भएको छ।
यो सम्मेलनलाई भारतले विश्वस्तरीय विचार मन्थन गर्ने वार्षिक क्यालेन्डर इभेन्टका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यसपटकको संस्करणमा हार्वर्ड, एमआईटी, अक्सफोर्ड र स्ट्यानफोर्ड जस्ता विश्वका उत्कृष्ट २५ विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूका साथै ३० भन्दा बढी देशका सांसदहरूको सहभागिता रहनेछ। विज्ञान र प्रविधिको क्षेत्रमा हुने विशेष सत्र एनएक्सटी इन साइन्समा प्रसिद्ध भौतिकशास्त्री डा. ब्रायन ग्रीनको समेत सहभागिता रहने आयोजकले जनाएका छन्।





















प्रतिक्रिया