काठमाडौं । अमेरिका–इजरायल र इरानबीच जारी युद्धको २०औं दिनमा इरानले कतारको ‘रास लाफान ग्यास प्लान्ट’मा क्षेप्यास्त्र प्रहार गर्दा ठूलो क्षति भएको छ। त्यसको जवाफमा अमेरिका–इजरायलले इरानका साउथ पार्स ग्यास फिल्ड लगायत तेल–ग्यास केन्द्रहरूमा हवाई आक्रमण गरेका छन्। दुबै पक्षबाट धम्की बढ्दै जाँदा खाडी क्षेत्रको अवस्था थप तनावपूर्ण बनेको छ, र युद्ध खर्च पनि तीव्र रूपमा बढिरहेको छ।
अमेरिका-इजरायलले बुधबार दक्षिणी इरानको साउथ पार्स ग्यास फिल्ड र असालुयेह सहरका तेल तथा ग्यास केन्द्रहरूमा हवाई आक्रमण गरेका छन्। साउथ पार्सलाई विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास फिल्ड मानिन्छ।
रिपोर्टहरूका अनुसार, आक्रमणमा ग्यासका साथै पेट्रोकेमिकल र तेलका पूर्वाधारहरूलाई पनि निशाना बनाइएको थियो। इजरायली सञ्चारमाध्यमले पनि बुसहर क्षेत्रको ग्यास केन्द्रमा आक्रमण भएको जानकारी दिएका छन्।
यसको जवाफमा इरानले खाडी देशहरूमा ठूला आक्रमण गर्ने चेतावनी दिएको छ। इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले मानिसहरूलाई साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका प्रमुख तेल तथा ग्यास केन्द्रहरूबाट टाढा रहन आग्रह गरेको छ।
द वासिङ्टन पोस्टको रिपोर्टअनुसार, पेन्टागनले इरान युद्धका लागि ह्वाइट हाउससँग २०० अर्ब डलरभन्दा बढीको बजेट मागेको छ। रिपोर्टमा बताइएअनुसार हालसम्म यस युद्धको लागत ११ अर्ब डलरभन्दा बढी भइसकेको छ। यो प्रस्ताव अमेरिकी कंग्रेसको स्वीकृतिका लागि पठाइन सक्छ।
वासिङ्टन पोस्टले एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै पेन्टागनले ह्वाइट हाउसलाई इरान युद्धका कारण २०० अर्ब अमेरिकी डलरभन्दा बढी स्वीकृत गर्न भनेको बताएको छ।





















प्रतिक्रिया