काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले उक्त संस्थाका तर्फबाट महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रुपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय गरेको हो। एसोसिएसनको केही समयअघि बसेको कार्यसमिति बैठकले अध्यक्ष ढकाललाई केन्द्रीय सदस्य बनाउन आफूहरुले उल्लेखनीय भूमिका खेल्नेसमेत जानकारी दिएको छ।
नेपालको पुँजी बजारमा ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डका रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउने उद्देश्यअनुरुप स्टक बस ब्रोकर एसोसिएसका तर्फबाट आफूले महासंघको केन्द्रीय कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएको अध्यक्ष ढकालले जानकारी दिए। ‘अहिले पुँजी बजारमा ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध छन् भने पुँजी बजारको मार्केट क्याप करिब ५० खर्ब रुपैयाँको हाराहारीमा छ’, उनले भने, ‘यसलाई नेपालको पुँजी बजारमात्र नभई समग्र अर्थतन्त्रको ऐनाका रुपमा अघि बढाउनुपर्छ। समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रुपमा अघि बढाउनकै लागि मैले महासंघको आसन निर्वाचनमा संस्थाका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ।’




















प्रतिक्रिया