काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्स, स्वास्थ्यकर्मी, शिक्षक लगायत सबै श्रमिकका लागि न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा अनिवार्य गर्ने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले हालै जारी गरिएको परिपत्रमार्फत सबै रोजगारदातालाई कानुनअनुसार न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए ।
उनका अनुसार श्रम ऐन, २०७४ को दफा १८ उपदफा (३) अनुसार तालिममा कार्यरत व्यक्तिलाई समेत न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चय कोष र बीमा जस्ता सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
मन्त्री साहले सबै श्रमिकले उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा पाउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै रोजगारदातालाई कानुन कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरे ।
विभिन्न अस्पताल, स्वास्थ्य संस्था तथा निजी एवं संस्थागत विद्यालयमा कार्यरत कर्मचारीहरूले न्यूनतम पारिश्रमिक र सुविधा नपाएको गुनासो बढेपछि मन्त्रालयले यस्तो निर्णय गर्नुपरेको उनले स्पष्ट पारे । मन्त्रालयले जारी गरेको परिपत्रमार्फत सम्बन्धित सबै निकायलाई कानुनको पूर्ण पालना गर्न निर्देशन दिँदै उल्लङ्घन गर्ने रोजगारदातामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।




















प्रतिक्रिया