इलाम । इलाम नगरपालिका ले स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्न २० जना उद्यमीलाई अनुदानमा ल्यापटप वितरण गरेको छ।
चालु आर्थिक वर्षको ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का ले बताए।
नगरपालिकाले अघिल्ला वर्षमा उद्यमशीलता तथा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमीलाई छनोट गरी सहयोग गरेको जनाएको छ।
कार्यवाहक नगरप्रमुख विष्णुकुमारी लिम्बू दाहाल ले प्रविधिको प्रयोगमार्फत व्यवसाय विस्तार र बजार पहुँच बढाउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम ल्याइएको बताइन्।
उनका अनुसार चालु वर्षका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरी आवेदन आह्वानपछि छनोट भएका उद्यमीलाई ल्यापटप वितरण गरिएको हो। आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उनले बताइन्।
अनुदान प्राप्त उद्यमीहरूले व्यवसाय व्यवस्थापन, लेखा प्रणाली र अनलाइन बजार विस्तारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।
नगरपालिकाले ललिपप उद्योग, मौरीपालन, अचार उत्पादन, सैलुन, राइस मिल, सोलार सेवा, सिलाइकटाइ, कृषि उत्पादन सङ्कलन तथा प्याकेजिङ, चिया प्रशोधन र हस्तकला जस्ता क्षेत्रमा संलग्न उद्यमीलाई प्रोत्साहन गर्दै आएको जनाएको छ।





















प्रतिक्रिया