सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै ग्रामीण शिक्षामा नयाँ इतिहास रचेको छ ।
सीमावर्ती तथा पिछडिएको मानिने क्षेत्रमा अवस्थित विद्यालयले उच्च जिपिएसहित उल्लेखनीय सफलता प्राप्त गरेपछि यतिबेला विद्यालय मात्र होइन, सिंगो गाउँपालिका नै गौरवान्वित बनेको छ ।
दसगज्जा नजिकको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेको यो विद्यालयले पछिल्ला केही वर्षयता निरन्तर शैक्षिक सुधार गर्दै आएको थियो । यस वर्षको एसईईको नतिजाले विद्यालयले अघि सारेको सुधार अभियान सफल भएको स्पष्ट संकेत दिएको छ ।
स्थानीय अभिभावक, बुद्धिजीवी तथा शिक्षा सरोकारवालाहरूले यस उपलब्धिलाई ‘ग्रामीण शिक्षामा सम्भव भएको सकारात्मक परिवर्तन’ का रूपमा लिएका छन् ।
विद्यालयका प्रधानाध्यापक भोला यादवका अनुसार यो सफलता एक दिनको परिणाम नभई दीर्घकालीन योजना, अनुशासित वातावरण, शिक्षकहरूको समर्पण तथा विद्यार्थीहरूको निरन्तर मेहनतको प्रतिफल हो ।
उनले भने,‘केही वर्षअघि यस्तो नतिजा कल्पनाजस्तै लाग्थ्यो। तर अहिले विद्यालयमा बनेको शैक्षिक वातावरण, शिक्षकहरूको लगनशीलता र विद्यार्थीहरूको मेहनतले विद्यालयलाई नयाँ उचाइमा पुर्याएको छ। अब हाम्रो लक्ष्य सतप्रतिशत गुणस्तरीय नतिजा हो।’
२०२७ सालमा स्थापना भएको यो विद्यालय क्षेत्रकै पुरानो तथा प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिन्छ । तर केही वर्षअघिसम्म कमजोर व्यवस्थापन, शैक्षिक अनुशासनको कमी र नेतृत्व अभावका कारण विद्यालयको अवस्था खस्किँदै गएको स्थानीयहरू बताउँछन् । पछिल्लो समय भने विद्यालयले नयाँ ऊर्जा र स्पष्ट दिशासहित सुधारको यात्रा थालेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नथुनी दासको सक्रियता, प्रधानाध्यापक भोला यादवको शैक्षिक नेतृत्व तथा गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको सहयोगात्मक भूमिकाले विद्यालय सुधार अभियानलाई प्रभावकारी बनाएको अभिभावकहरूको भनाइ छ ।
विद्यालयमा नियमित अनुगमन, अतिरिक्त कक्षा सञ्चालन, परीक्षा तयारी कोचिङ, शिक्षक–अभिभावक समन्वय तथा कडा अनुशासनलाई प्राथमिकतामा राखिएको कारण नतिजामा उल्लेखनीय सुधार आएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नथुनी दासले विद्यालयलाई केवल परीक्षा केन्द्रित नभई व्यवहारिक र गुणस्तरीय शिक्षाको केन्द्र बनाउने लक्ष्य रहेको बताए ।
उनले भने, ‘ग्रामीण क्षेत्रका विद्यार्थीले अवसर पाए उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने प्रमाण हाम्रो विद्यालयले दिएको छ। अब हामी प्रविधिमैत्री, प्रतिस्पर्धी र व्यवहारिक शिक्षा प्रणालीतर्फ अघि बढिरहेका छौं।’
त्यसैगरी गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले शिक्षा क्षेत्रलाई स्थानीय सरकारको मुख्य प्राथमिकतामा राखिएको उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा निरन्तर लगानी र सहकार्य जारी रहने बताए। उनले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा विस्तार गर्न स्थानीय तह प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
विद्यालय दक्षिण सीमावर्ती शान्त वातावरणमा अवस्थित भएकाले अध्ययनका लागि अनुकूल शैक्षिक माहोल बनेको शिक्षकहरू बताउँछन् । आधुनिक शिक्षण पद्धति, नियमित मूल्यांकन प्रणाली तथा दक्ष शिक्षकहरूको मार्गदर्शनका कारण विद्यार्थीहरूले विज्ञान, गणित लगायत जटिल विषयमा समेत उत्कृष्ट नतिजा हासिल गरेका छन् ।
पूर्व–पश्चिम हुलाकीमार्गसँग जोडिएको यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । पछिल्ला वर्षहरूमा विद्यालयप्रति अभिभावकहरूको विश्वास समेत उल्लेखनीय रूपमा बढेको देखिन्छ । निजी विद्यालयतर्फ आकर्षित हुने धेरै अभिभावक अहिले सामुदायिक विद्यालयमै आफ्ना छोराछोरी भर्ना गराउन थालेका छन् ।





















प्रतिक्रिया