काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका निजी शिक्षण संस्थाहरूमा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीहरूका लागि परीक्षा प्रणालीमार्फत छनोट गरिने जनाएको हो ।
विभागकाअनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११:५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् ।
विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइटमा रहेको छ।
छात्रवृत्ति छनोटका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । उक्त परीक्षामा माध्यमिक तह (कक्षा १०)को पाठ्यक्रममा आधारित रहेर १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।





















प्रतिक्रिया