Logo

प्रमुख समाचार

शिक्षाक्षेत्रको बजेट बढाउन अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरुको जोड



काठमाडौं । विश्वविद्यालयहरुले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्नसक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्ने विज्ञहरुले औल्याएका छन् ।

ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिहरुले गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल, भारत, बंगलादेश लगायत देशका अर्थशास्त्रीहरुको उपस्थिति थियो । सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्वडीन प्राध्यापक डा. डिल्लीराज शर्माले नीजि क्षेत्रसँग सहकार्य गरेर विश्वविद्यालयहरुले शैक्षिक अनुसन्धानलाई बढावा दिनुपर्ने बताए ।

उनले नेपालमा सैद्धान्तिक शिक्षामा धेरै लगानी भएको तर खोज,अनुसन्धान र नवप्रवर्तनले प्राथमिकता नपाएको शर्माको भनाई छ । ‘दिगो विकासका लक्ष्य हासिल गर्न कुशल व्यवस्थापन क्षमता चाहिन्छ ।

विश्वव्यापी सोचलाई स्थानीयस्तरमा विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारले शैक्षिक अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्छ’, शर्माले भने । उनले शिक्षा क्षेत्रको बजेट बढाएर मात्रै विश्वबजारसँग प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिनेमा जोड दिए ।

भारतको बनारस हिन्दु विश्वविद्यालयको व्यवस्थापन संकायका प्रमुख प्राध्यापक डा.हरेन्द्रकुमार सिंहले शासकीय सफलताका लागि व्यवस्थापन नै सबैभन्दा महत्वपूर्ण औजार भएको बताए ।

विश्व अर्थतन्त्रको उदाहरण दिदैं डा.सिंहले शक्ति राष्ट्रहरुले अनुसन्धानमा गरेको लगानीले नै अर्थतन्त्रमा प्रतिफल दिएको दावी गरे । नेपाल र भारतबीच शैक्षिक क्षेत्रमा पर्याप्त सहकार्य हुन नसकेको भन्दै उनले दुई देशबीच राजनीतिक र सांस्कृति सम्बन्धजस्तै शैक्षिक सम्बन्ध पनि बलियो बनाउनुपर्नेमा जोड दिए ।

मधेश विश्वविद्यालयका व्यवस्थापन संकायका डीन डा.अञ्जयकुमार मिश्रले प्रविधिको विकाससँगै अनुसन्धानको क्षेत्रमा देखिएको चुनौतीलाई नेपालका अर्थशास्त्रीहरुले चिर्न सक्नुपर्ने बताए ।

संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेले अर्थशास्त्रीहरु कुनैपनि मुलुकको सहयोगी शक्ति रहेको बताए । उनले नेपालमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन नेपालका लाग उचित कानुन र नीति बनाउन सहयोगी हुने दावी गरे ।

आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य डा.घनश्यामप्रसाद साहले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्र, अनुसन्धानका निष्कर्ष र विमर्शले राष्ट्रिय नीति निर्माणमा मद्दत पुग्ने बताए ।

उनले मेगा कलेजले विद्यार्थीहरुलाई विश्व अर्थतन्त्रका विविध आयामबारे बुझ्न र विश्वबजारमा खपत हुन योग्य बनाउन सम्मेलन आयोजना गरेको बताए ।

नेपाल कमर्श एसोसिएसनका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले नेपालका शैक्षिक अनुसन्धाताहरुले विश्वव्यापी अर्थतन्त्र र समसामयिक सन्दर्भबारे गरेका अध्ययनहरु विश्वस्तरी भएको बताए ।

सम्मेलनको निष्कर्षले सरकारलाई नीति निर्माणमा बौद्धिक टेवा पुग्ने चौधरीको भनाई छ । शनिबारसम्म चल्ने सम्मेलनमा नेपालका सबैजसो विश्वविद्यालयका व्यवस्थापन संकायका प्राध्यापकहरु, अनुसन्धानकर्ताहरु तथा व्यापार,वाणिज्य,प्रविधि र कानुनका विद्यार्थीहरु सहभागि छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार १९:४५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।