सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा शुक्रबार प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान भएको छ। घटनामा एक भारतीय नागरिक प्रहरीको गोली लागेर घाइते भएका छन् भने अन्य संलग्न व्यक्ति फरार भएका छन्।
प्रहरीका अनुसार लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेका थिए। प्रहरीका अनुसार उक्त गोलीबाट कुनै मानवीय क्षति भएको छैन।
त्यसपछि आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो। तीमध्ये एक गोली भारतको बिहार राज्यको मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको प्रहरीले जनाएको छ। घाइते कलामलाई नियन्त्रणमा लिएर उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका कलाम उक्त समूहका मुख्य कारोबारी हुन्। प्रारम्भिक अनुसन्धानबाट उनीहरू लामो समयदेखि भारतबाट नेपालतर्फ व्यावसायिक रूपमा लागुऔषध तस्करीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले कलामको साथबाट १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ। घटनामा संलग्न अन्य दुईदेखि तीन जना फरार रहेकाले उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया