Logo

समाचार

महोत्तरीमा ४८७ किलो गाँजासहित ट्रक र दुई जना पक्राउ



महोत्तरी । महोत्तरी प्रहरीले ४ सय ८७ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

महोत्तरीको एकडारा गाउँपालिका–१ भटोलियास्थित ना ३ ख ६५९२ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको ४०.३६० किलोग्राम गाँजा फेला परेको थियो।

गाँजासहित फेला परेको ट्रक र त्यसमा सवार दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउँदै जाँदा ट्रक चालकले दिएको बयानका आधारमा धनकुटाबाट ल्याइएको गाँजा महोत्तरीमा एक व्यक्तिलाई दिएर आएको बताएका थिए। त्यसपछि प्रहरीले थप अनुसन्धान तीव्र बनाएको थियो।

ट्रक चालकले दिएको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटिएको टोलीले महोत्तरी गाउँपालिका–४ रानी रतवाडास्थित एक घरमा छापा मार्ने क्रममा घरभित्र लुकाइराखिएको ३५ वटा प्लास्टिकका बोरामा करिब ४४६.७४५ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

ट्रकबाट बरामद भएको ४०.३६० किलोग्राम र घरबाट बरामद भएको ४४६.७४५ किलोग्राम गरी प्रहरीले कुल ४८७ किलो १०५ ग्राम गाँजा नियन्त्रणमा लिएको जनाएको छ।

गाँजा ओसारपसार गरेको आरोपमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–६ का २२ वर्षीय विपस नेगी र काठमाडौं महानगरपालिका–१ का २४ वर्षीय साधुराम खड्कालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०८३, आईतवार १९:१४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।