Logo

समाचार

घुम्तीबाट खसेको जीप अर्को जीपमाथि बजारिँदा ९ जना घाइते, एक गम्भीर



म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–७ फेदीखोलामा एक जीप पल्टिएर अर्को जीपमाथि खस्दा ९ जना घाइते भएका छन्।

ताकमबाट दरबाङतर्फ आउँदै गरेको बोलेरो जीप सडकको घुम्तीमा पल्टिएर विपरीत दिशाबाट गुडिरहेको यात्रुबाहक जीपमाथि खसेको हो।

मङ्गलबार दिउँसो करिब ३ बजे बा ७७९५ नम्बरको बोलेरो जीप अनियन्त्रित भई घुम्तीबाट पल्टिँदा अगाडिबाट आउँदै गरेको ग ३ च ३३१४ नम्बरको जीपमाथि बजारिएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दरबाङ आधारभूत अस्पताल पठाएको छ।

दुर्घटनामा ग ३ च ३३१४ नम्बरका चालक पर्वतको जलजला गाउँपालिका–८ बस्ने अनिल नेपाली गम्भीर घाइते भएका छन्। अर्का चालक म्याग्दी धौलागिरी–३ मुनाका २७ वर्षीय ध्रुव पुन र सोही गाउँपालिका–७ का १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीय सुनबिर रसाइली, ७८ वर्षीया ख्याउटी रसाइली, ४० वर्षीया धना कुमारी सुनार, ६३ वर्षीय दलबहादुर र २६ वर्षीया कल्पना सुनार मध्यम घाइते भएका छन्।

यस्तै, रोल्पाको खवाङ गाउँपालिका–५ का ५२ वर्षीय भिमसेन पुन सामान्य घाइते भएका छन्। दुवै जीपमा गरी कुल १० जना सवार रहेकोमा एक जना यात्रु भने सकुशल रहेका छन्। दुर्घटनाग्रस्त दुवै सवारीसाधन घटनास्थलमै रहेका छन् भने घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार १९:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।