Logo

राजनीति

बारम्बार विद्युत् अवरुद्ध हुने समस्या छानबिन गर्न ऊर्जा मन्त्रालयद्वारा विशेष कार्यदल गठन



काठमाडौं । देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा झ्याप–झ्याप जाने समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसको कारण खोज्न र समाधानका उपाय सिफारिस गर्न विशेष कार्यदल गठन गरेको छ।

मन्त्रालयले सहसचिवको नेतृत्वमा गठन गरेको कार्यदललाई विद्युत् आपूर्तिमा अवरोध आउनुका कारणहरूको अध्ययन, समस्या समाधानका लागि आवश्यक उपाय कार्यान्वयन तथा उपभोक्ताले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन भए–नभएको अनुगमन गर्ने जिम्मेवारी दिएको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवासम्बन्धी जनगुनासोलाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै लापरबाही वा कमजोरी भेटिए जिम्मेवार पक्षलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।

मन्त्री श्रेष्ठको निर्देशनपछि मन्त्रालयले कार्यदल गठन गर्दै विद्युत् आपूर्तिमा देखिएका समस्या, त्यसका मूल कारण र दीर्घकालीन समाधानका उपायबारे प्रतिवेदन पेश गर्न जिम्मेवारी तोकेको हो।

मन्त्रालयले विद्युत् आपूर्तिलाई थप नियमित, भरपर्दो र गुणस्तरीय बनाउँदै उपभोक्ताको विश्वास कायम गर्न आवश्यक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार २१:०६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।