भक्तपुर । सुरेश श्रेष्ठले बागमती प्रदेशका १३ जिल्लामा पर्यटन क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत करिब चार अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका छन्।
मन्त्रालयको आयोजना तथा राष्ट्रिय सञ्चार केन्द्र नेपालको सहकार्यमा मंगलबार भक्तपुरमा आयोजित ‘पर्यटन क्षेत्रको सम्भावना, चुनौती र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटनलाई नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सकिने बताए।
उनले नेपालका छिमेकी भारत र चीनका पर्यटकलाई प्रभावकारी रूपमा आकर्षित गर्न सके पर्यटन व्यवसायसँगै राष्ट्रिय अर्थतन्त्रले उल्लेखनीय फड्को मार्ने धारणा राखे।
नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले चालु आर्थिक वर्षमा सरकारले आन्तरिक तथा बाह्य गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा हालसम्म करिब १३ लाख पर्यटक नेपाल आइसकेको जानकारी दिए।
पर्यटन क्षेत्रले नेपालको कुल अर्थतन्त्रमा करिब २.५ प्रतिशत योगदान पुर्याइरहेको उल्लेख गर्दै उनले पर्यटनको दिगो विकासका लागि नीति, पूर्वाधार र प्रवर्द्धनमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
कार्यक्रममा दामोदर नेपालले नेपाल पर्यटनको अपार सम्भावना भएको मुलुक भएकाले गाउँ–गाउँका पर्यटकीय गन्तव्यको विकासमा जोड दिनुपर्ने बताए।
त्यस्तै रामसुन्दर बकेले पर्यटन क्षेत्रमा लगानीको वातावरण अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होमस्टे विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
अन्तरक्रियामा कृष्णहरि आचार्य, पदम पोखरेल, सुन्दर शिल्पकार, पुष्करराज बुढाथोकी र दिवश गुरागाईंले पर्यटन क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सक्रियता आवश्यक रहेको बताए।
कार्यक्रमका अध्यक्ष पेशलकुमार आचार्यले पर्यटन विकासलाई तीनै तहका सरकारले साझा प्राथमिकतामा राख्नुपर्ने र यस क्षेत्रलाई ओझेलमा पर्न नदिनुपर्ने बताए।




















प्रतिक्रिया