Logo

अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच फेरि तनाव चुलियो, होर्मुज घटनापछि हवाई आक्रमण



काठमाडौँ  । होर्मुज जलडमरूमध्यमा तीनवटा व्यावसायिक जलयानमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ।

अमेरिकी केन्द्रीय सैन्य कमान्ड (सेन्टकम) ले मंगलबार राति जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यावसायिक जलयानलाई लक्षित आक्रमणको जवाफस्वरूप कारबाही गरिएको उल्लेख छ।

सेन्टकमका अनुसार कारबाहीको उद्देश्य व्यावसायिक जलयातायातमाथि आक्रमण गर्ने पक्षलाई त्यसको गम्भीर परिणामबारे सन्देश दिनु हो। विज्ञप्तिमा इरानको गतिविधिलाई अनावश्यक, खतरनाक तथा युद्धविरामविपरीतको कदमका रूपमा व्याख्या गरिएको छ।

इरानले भने अमेरिकी आक्रमणलाई दुई देशबीच गत महिना भएको समझदारीको उल्लङ्घन भएको बताएको छ। इरानका उपविदेशमन्त्रीले अमेरिकी कदम अस्वीकार्य रहेको भन्दै तेहरानले आवश्यक र निर्णायक प्रतिकारात्मक उपाय अपनाउने चेतावनी दिएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा हवाई आक्रमण भएको हो। विस्फोटका छर्रा लागेर केही व्यक्ति घाइते भएको जनाइएको भए पनि हालसम्म कुनै मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन।

यसअघि अमेरिकाले होर्मुज जलडमरूमध्यमा भएका आक्रमणलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै जिम्मेवार पक्षले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो।

सैन्य कारबाहीअघि अमेरिकी अर्थ मन्त्रालयले इरानमाथिका तेलसम्बन्धी केही प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पार्न दिइएको अनुमति पनि रद्द गरेको थियो।

उक्त व्यवस्था अमेरिका–इरानबीचको समझदारीअन्तर्गत इरानलाई कच्चा तेल तथा इन्धनजन्य पदार्थ बिक्री गर्न दिइएको सुविधाको हिस्सा मानिएको थियो।

इरानको विदेश मन्त्रालयले उक्त निर्णयलाई पनि समझदारीविपरीत भएको बताएको छ। मन्त्रालयले अमेरिकी निर्णयले वासिङ्टनको अस्थिर नीति र अविश्वसनीयता उजागर गरेको दाबी गर्दै राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक सबै उपाय अपनाइने जनाएको छ।

यसबीच अमेरिकी प्रशासनका एक अधिकारीले तनाव बढे पनि इरानसँगको कूटनीतिक संवाद पूर्ण रूपमा बन्द नभएको संकेत दिएका छन्। उनका अनुसार अन्तिम सहमतिका लागि वार्ता जारी रहनेछ।

विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग मानिने होर्मुज जलडमरूमध्यमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व व्यापारमा थप प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

 

प्रकाशित मिति : २४ असार २०८३, बुधबार ०७:५२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।