Logo

खेलकुद

क्रिकेटलाई व्यवस्थित गर्न गगन थापाको चासो, संसदमा दर्ता गराए प्रश्न



नेपाली काँग्रेसका सांसद गगन थापाले हचुवामा चलिरहेको क्रिकेट सुधारको विषय प्रतिनिधि सभामा प्रवेश गराएका छन् । मंगलबार प्रतिनिधि सभामा मन्त्रीको लागि एक प्रश्न दर्ता गराउँदै नेता थापाले क्यान कहिले निलम्बन फुकुवा हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

लामो समयदेखि निलम्बनमा परेको क्यान फुकुवा गर्न चासो नदिने र खेलाडीहरुले परिश्रम गरेर खेल जितेपछि वाहवाही गर्ने प्रचलन बढीरहेको बेलामा थापाले सरकारको ध्यान केन्द्रीत गर्नको लागि संसदमा यस्तो प्रश्न दर्ता गराएका हुन् ।

प्रश्न दर्ता गरेपछि हाम्राकुरासँगको कुराकानीमा नेता थापाले सधै हचुवाको भरमा चलाएर क्रिकेटको विकास नहुने भएकोले यस विषयमा सरोकारवाला निकायलाई झक्झक्याउनको लागि यस्तो प्रश्न दर्ता गरेको जानकारी दिए । उनले अब यो विषयमा मन्त्रीले उत्तर दिनु पर्ने भएपछि यस विषयमा सरकारले समेत चासो राख्नै पर्ने भएकोले आफूले संसदमा प्रश्न दर्ता गराएको जानकारी दिए ।

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०को सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले गत वर्ष मात्र चार वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो। सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा अघिल्लो वर्ष सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एकदिवसीय मान्यता पाएको हो।

विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावक बिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् भने नेपाली क्रिकेटलको व्यवस्थापकीय पक्ष सबै आइसिसीले नै हेर्दै आएको छ। निलम्वन फुकुवाको विषयमा लामो समयदेखि पहल शुरु भए पति त्यसले सार्थकता पाउन सकेको छैन।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्गप्रशस्त गर्न बारम्बार आग्रह गरेपछि निलम्वित नेपाल क्रिकेट सङ्घ ९क्यान०ले राष्ट्रिय खेलकूद परिषद् (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ।

“आइसिसीले निलम्वन फुकुवाका लागि राखेको शर्त हामीले पूरा गरिसकेका छौँ, फेब्रुअरीमा आइसिसीको बोर्ड बैठक बस्दैछ, सोही बैठकले निलम्वन फुकुवा गर्नेमा हामी विश्वस्त छौँ”, नेपाल क्रिकेट सङ्घ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले भने।

विसं २०७२ मा राष्ट्रिय खेलकूद परिषद्ले निर्वाचित क्यानलाई मान्यता नदिइ रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। त्यसको चार महीनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको हो।

सिमित स्रोतसाधनका बाबजुद नेपालमा क्रिकेट गतिविधि विस्तारै मौलाउने क्रममा २०४४ सालदेखि शुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धले देशभित्र क्रिकेट खेल विस्तारमा थप योगदान पुर्‍यायो। पहिलोपल्ट २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनाएको हो।

विसं २०५५ मा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पायो। त्यस वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मार्‍यो। कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यहीबेला बनाइएको हो। प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रियस्तरका मैदान बन्नु नेपाली क्रिकेटको ठूलो उपलब्धि थियो।

सन् २००२ मा सिङ्गापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता भयो। उपाधि युएईले जित्यो। लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भूटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधि नै जित्यो। त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली क्रिकेटले सन् २००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्न जर्सीको भ्रमण गर्‍यो। समूह ए को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो।

सन् २०१० को फेब्रुअरीमा काठमाडौँमा सम्पन्न डिभिजन फाइभ नेपालले जित्यो। अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो। त्यही वर्ष भएको डिभिजन फोरमा नेपाल तेस्रो हुँदै रेलिगेसनबाट जोगियो। सन् २०१२ मा डिभिजन फोर जितेर डिभिजन थ्रीमा उक्लिएको नेपाल सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्री मा पनि विजेता बन्दै डिभिजन टु मा उक्लिएको हो।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ४ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।