Logo

कृषि

राष्ट्रिय धान दिवसको अवसरमा चार जना कृषक पुरस्कृत



म्याग्दी। २३औँ राष्ट्रिय धान दिवस २०८३ को अवसरमा आज म्याग्दीका उत्कृष्ट चार जना कृषकहरूलाई पुरस्कृत गरिएको छ।

कृषि विकास कार्यालय, म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा रघुगङ्गा गाउँपालिका २ का नौबहादुर केसी, बेनी नगरपालिका ३ भकिम्लीका लालबहादुर पुन, बेनपा १ रत्नेचौरका उमादेवी उपाध्याय र बेनपा ४ सुर्केमेलाका डिलबहादुर खत्रीलाई पुरस्कृत गरिएको हो।

सीरबारी कृषि फर्मका सञ्चालक केसीले केरा र मैरीपालन तथा सचिन्द्र कृषि तथा पशुपंक्षी फार्मका पुनले किवी र खुर्सानी खेती गरेका छन्।

कृष्ण पशुपंक्षी फार्मका उपाध्यायले भैँसीपालन र केसी बहुउद्देश्यीय कृषि फर्मका डिलबहादुर खत्रीले मौरीपालनका साथै सुन्तला खेती गरेका हुन्।

व्यावसायिक कृषि पेसामा आबद्ध चार जना कृषकलाई प्रोत्साहनका लागि नगद १०/१० हजारसहित पुरस्कृत र सम्मान गरेको कृषि विकास कार्यालय, म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले जानकारी दिए।

कार्यालय प्रमुख बाँस्तोला, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्याल र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रतिनिधि सुवास रेग्मीले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार २१:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।