काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)का फार्मेसी युनिट इन्चार्जसहित ८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुंगाना, फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दिपक सापकोटा, स्टोर किपरहरू विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दिप तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार उनीहरूविरुद्ध सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो दाबी गरिएको छ।
औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधिको आपूर्ति नभए पनि बिल बिजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको, अस्पतालको स्टोर शाखा र भर्याङमा करोडौँको औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौज्दात नरहेको भन्ने उजुरीको आधारमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो ।
अनुसन्धानको क्रममा उनीहरूले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी गराई सार्वजनिक सम्पत्तिको हिनामिना, हानीनोक्सानी पुर्याउने काम गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।





















प्रतिक्रिया