काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेता बन्ने भएका छन् । रास्वपाको नेतृत्वले सिंहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ । यससम्बन्धी औपचारिक घोषणा भने केही दिनभित्र हुने बताइएको छ ।
सिंहसँग रास्वपा नेतृत्वको विभिन्न चरणमा छलफल भएको र उनी पार्टीमा आबद्ध हुने सहमति नजिक पुगेको स्रोतको दाबी छ । पार्टीले उनको लामो राजनीतिक अनुभव, संसदीय अभ्यास र राष्ट्रिय राजनीतिमा रहेको सक्रियतालाई ध्यानमा राख्दै वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी गरेको बताइएको छ ।
हाल प्रतिनिधिसभाका सदस्य रहेका सिंह सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । संसद्भित्र र बाहिर स्पष्ट र निर्भीक अभिव्यक्तिका लागि परिचित सिंहले सुशासन, भ्रष्टाचार नियन्त्रण, संघीयता, मधेशका मुद्दा तथा समसामयिक राष्ट्रिय राजनीतिक विषयमा निरन्तर आफ्नो धारणा राख्दै आएका छन् ।
रास्वपाले आगामी दिनमा संगठन विस्तार, नीति निर्माण र राष्ट्रिय राजनीतिक एजेन्डालाई थप प्रभावकारी बनाउन सिंहको अनुभव उपयोग गर्ने तयारी गरेको स्रोतले जनाएको छ । विशेषगरी मधेशमा पार्टीको संगठन विस्तार र प्रभाव बढाउन उनको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
सिंहको पार्टी प्रवेश र वरिष्ठ नेताको जिम्मेवारीबारे रास्वपाले औपचारिक निर्णय तथा घोषणा गर्न बाँकी छ । आवश्यक आन्तरिक प्रक्रिया पूरा भएपछि पार्टीले यसबारे औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।




















प्रतिक्रिया