काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई राज्य र समाजका लागि सामूहिक आत्मचिन्तनको विषय बनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय रहेको बताएका छन् ।
थापाले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै गणेश नेपालीका आश्रित परिवारलाई साथ दिन सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।
उनले विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताएका छन् । ‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन । यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,’ सभापति थापाले भनेका छन् ।
मृतक नेपालीको आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दु:खमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।
‘विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ,’ सभापति थापाले भनेका छन् ।




















प्रतिक्रिया