Logo

बैंकिङ

महिला उद्यमीलाई १५ लाखसम्म बिना धितो कर्जा, सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि’ योजना



काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।

यस कर्जा योजनाको मूल्यांकनका लागि बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (IFC) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको जनाएको छ।

उक्त प्रणालीले परम्परागत बैंकिङ अभ्यासअनुसार धितोलाई मात्र आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता लगायतका पक्षहरूको समग्र मूल्यांकन गर्ने व्यवस्था गरेको छ।

बैंकका अनुसार यस प्रणालीले धितो अभावका कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्ने विश्वास लिइएको छ।

‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजनाबारे थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार १९:४५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।