काठमाडौं। इरानले हर्मुज जलडमरूमध्य अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिका–इरानबीच तनाव थप चर्किएको छ।
अमेरिकाले व्यापारिक जहाजमाथि इरानी आक्रमणपछि इरानविरुद्ध नयाँ चरणको सैन्य कारबाही गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय सैन्य कमान्ड (सेन्टकम)का अनुसार साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि आक्रमण भएपछि जवाफी कारबाही गरिएको हो।
आक्रमणमा जहाजको इन्जिन कक्षमा क्षति पुगेको र चालक दलका एक सदस्य बेपत्ता भएको अमेरिकी दाबी छ।
इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बल (आईआरजीसी)ले अर्को सूचना नभएसम्म हर्मुज जलडमरूमध्य बन्द रहने जनाएको छ। इरानले जहाजले स्वीकृत समुद्री मार्ग उल्लंघन गरेपछि कारबाही गरिएको दाबी गरेको छ।
इरानी अधिकारीहरूका अनुसार अमेरिकी आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएका छन्।
इरानले त्यसको प्रत्युत्तरमा खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।
तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम समाप्त भएको बताएका छन् भने इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकामाथि सहमति उल्लंघन गरेको आरोप लगाएका छन्।
विश्वको प्रमुख ऊर्जा ढुवानी मार्ग मानिने हर्मुज जलडमरूमध्य बन्द भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा थप दबाब पर्ने अनुमान गरिएको छ।




















प्रतिक्रिया