काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ कर्जा योजना ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सार्वजनिक गरेको छ। महिला उद्यमीहरूको वित्तीय पहुँचलाई सहज र सरल बनाउन बैंकले यो विशेष योजना सञ्चालनमा ल्याएको हो।
यस कर्जा योजना अन्तर्गत महिला उद्यमीहरूले आफ्नो व्यवसाय विस्तारका लागि विभिन्न वर्गीकरणमा ऋण सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार महिला उद्यमीले १५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।
यस कर्जा प्रक्रियालाई थप वैज्ञानिक र प्रभावकारी बनाउन सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय वित्त निगमको प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्याङ्कन प्रणाली विकास गरेको छ। परम्परागत बैंकिङ अभ्यासमा धितोलाई मात्र मुख्य आधार मानिने गरेकोमा, यस नयाँ प्रणालीले व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह र उद्यमीको कार्यक्षमता जस्ता पक्षहरूको समग्र विश्लेषण गर्नेछ।
धितोको अभावमा वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भाव्यतालाई प्राथमिकता दिने बैंकको मुख्य लक्ष्य रहेको छ। यस व्यवस्थाले वास्तविक महिला उद्यमीहरूलाई आफ्नो व्यवसायिक सपना साकार पार्न ठूलो मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।




















प्रतिक्रिया