Logo

अर्थ

४२मा नबिल बैंक, ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणासहित एआईमा केन्द्रित भविष्यको रणनीति



काठमाडौं । नबिल बैंकले स्थापनाको ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अघि बढाउने र कृत्रिम बौद्धिकता (एआई)मा आधारित बैंकिङ सेवाको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा दिगो वित्तीय सेवा विस्तार गर्ने रणनीतिसमेत सार्वजनिक गरेको हो ।

वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षको यात्राको आधार ‘विश्वास’ रहेको उल्लेख गर्दै यही विश्वास नै बैंकको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । उनले नबिल बैंकले परिवर्तनको प्रतीक्षा नगरी सधैँ बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको दाबी गरे ।

उनका अनुसार नबिलले आधुनिक बैंकिङको सुरुआत गर्दै ‘एनबैंक’ एपमार्फत डिजिटल बैंकिङ विस्तार गरेको छ । हाल बैंकले वाणिज्य बैंकिङ, लगानी बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, पुँजी बजार तथा डिजिटल बैंकिङ सेवा एउटै वित्तीय समूहअन्तर्गत उपलब्ध गराइरहेको जनाएको छ ।

अध्यक्ष चौधरीले अब बैंकिङ क्षेत्र कृत्रिम बौद्धिकताको नयाँ युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै आगामी दिनमा ‘एनबैंक’ एपको विकास एआईलाई केन्द्रमा राखेर गरिने जानकारी दिए ।

यसबाट कर्जा प्रवाह, जोखिम व्यवस्थापन, ग्राहक अनुभव, वित्तीय समावेशीकरण तथा सुरक्षा प्रणालीलाई थ प्रभावकारी बनाइने उनले बताए । प्रविधिको विकाससँगै मानवीय संवेदनशीलता र मूल्यलाई पनि उत्तिकै प्राथमिकता दिइने उनको भनाइ थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सन् १९८४ मा नेपालको पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको नबिल आज लाखौँ ग्राहकको विश्वास जित्न सफल भएको बताए । उनले बैंकले वित्तीय सेवा प्रदान गर्ने संस्थाभन्दा पनि ग्राहकको सपना र सफलताको यात्रामा सहयात्री बन्ने लक्ष्य राखेको उल्लेख गरे ।

ग्राहकको बदलिँदो आवश्यकता र दिगो विकासलाई ध्यानमा राख्दै नबिलले नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने लक्ष्य लिएको जनाएको छ ।

बैंकका अनुसार हाल कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योगमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरिएको छ ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा खुद नाफा १० लाख रुपैयाँबाट ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, निक्षेप संकलन १४ करोड ६० लाख रुपैयाँबाट ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ तथा कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । कुल सम्पत्ति २६ करोड ९० लाख रुपैयाँबाट ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

दुई शाखा र १४४ कर्मचारीबाट सेवा सुरु गरेको बैंकले हाल देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर तथा २ हजार ४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विभिन्न ग्राहकमुखी योजना पनि सार्वजनिक गरेको छ । हेटौँडा र वीरगञ्जमा सडक विस्तारबाट प्रभावितका लागि पुनःनिर्माण घर कर्जा योजना, लकर सुरक्षा निक्षेपमा ४२ प्रतिशत छुट, विद्युतीय भुक्तानी गेटवे सेवाको एकीकरण शुल्कमा ५० प्रतिशत छुट तथा क्रेडिट र डेबिट कार्ड सेवामा विशेष सहुलियत उपलब्ध गराइने बैंकले जनाएको छ ।

नबिल बैंकले गुणस्तरीय तथा डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणाअनुसार वित्तीय नवप्रवर्तनलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार ०६:४६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।