काठमाडौं ।थाइल्यान्डको राजधानी बैंककको चातुचक क्षेत्रमा रहेको एक मनोरञ्जन गृहमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्।
थाई अधिकारीहरूका अनुसार केही व्यक्ति अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
आगलागीको सूचना पाएलगत्तै अग्नि नियन्त्रणकर्मी घटनास्थल पुगेका थिए। आगो र बाक्लो धुवाँ फैलिँदा भवनभित्र रहेका मानिसहरू मुख्य प्रवेशद्वार हुँदै बाहिर निस्कने प्रयास गरिरहेका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा भवनबाट आगोका ठूला लप्काहरू निस्किरहेको तथा ज्यान बचाउन मानिसहरू भागदौड गरिरहेको देखिन्छ। केही व्यक्तिहरू आतंकित हुँदै चिच्याइरहेको दृश्यसमेत सार्वजनिक भएको छ।
घटनास्थलको निरीक्षणपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले हालसम्म २७ जनाको शव फेला परेको पुष्टि गरेका छन्। उनका अनुसार मृतकमध्ये नौ पुरुष र १८ महिला छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार अग्नि नियन्त्रणकर्मीहरूले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। तर त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको थियो।
प्रारम्भिक अनुसन्धानमा आगलागी भवनको विद्युत् नियन्त्रण स्विचबाट सुरु भएको हुन सक्ने अनुमान गरिएको छ। आगलागीका बेला त्यहाँ प्रस्तुति दिइरहेका एक सङ्गीतकर्मीका अनुसार विद्युत् प्रणालीमा समस्या देखिएलगत्तै ठूलो विस्फोट भएको थियो। त्यसपछि आगो र धुवाँ तीव्र रूपमा फैलिएको उनले बताएका छन्।
प्रधानमन्त्री चार्नविराकुलका अनुसार धेरै व्यक्ति सुरक्षित रूपमा बाहिर निस्कन नसकेपछि भवनको पछाडितर्फ पुगेका थिए। केहीले शौचालयमा आश्रय लिएका थिए। अधिकांश शव त्यही क्षेत्रबाट फेला परेको उनले जानकारी दिए।
थाई अधिकारीहरूले घटनाको विस्तृत अनुसन्धान सुरु गरेका छन्। आगलागीको वास्तविक कारण, भवनको सुरक्षा व्यवस्था तथा सम्भावित लापरवाहीबारे छानबिन भइरहेको जनाइएको छ।




















प्रतिक्रिया