काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एफसीए (फेलो चार्टर्ड एकाउन्टेन्ट) भोजन अर्याललाई आफ्नो राजस्व सल्लाहकार नियुक्त गरेका छन्। मन्त्रीस्तरीय निर्णयअनुसार सोमबार अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकार नियुक्त गरिएको हो।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले अर्याललाई नियुक्तिपत्र प्रदान गर्दै सरकारको १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य हासिल गर्न उहाँको विज्ञता, अनुभव र व्यावसायिक दक्षताको उपयोग हुने विश्वास व्यक्त गरे। उनले राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउन इमानदार र परिणाममुखी सुझाव तथा सहकार्यको अपेक्षा पनि गरे।
नियुक्तिपत्र ग्रहणपछि नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीले गरेको विश्वासलाई आफ्नो अनुभव तथा दक्षतामार्फत नतिजामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्याङ्जाका स्थायी बासिन्दा अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण, कर परामर्श तथा वित्तीय व्यवस्थापनको क्षेत्रमा सक्रिय छन्। उनी चार्टर्ड एकाउन्टेन्टका रूपमा विभिन्न निजी तथा संस्थागत निकायमा लेखापरीक्षण र वित्तीय परामर्श सेवा प्रदान गर्दै आएका छन्।
अर्थ मन्त्रालयका अनुसार अर्यालको नियुक्ति अवैतनिक हुनेछ। मन्त्रालयले राजस्व नीति तथा प्रशासनसँग सम्बन्धित विषयमा आवश्यक परामर्श लिन उनलाई सल्लाहकारको जिम्मेवारी दिएको जनाएको छ।




















प्रतिक्रिया