Logo

राजनीति

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन



काठमाडौं ।  प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले महासन्धि अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।

प्रस्तावमाथिको छलफलमा सांसदहरू क्रान्तिशिखा धिताल, गुरुप्रसाद बराल, रमेशकुमार मल्ल, कृष्णहरि बुढाथोकी, कमल सुवेदी, पारसमणि गेलाल, प्रभा कार्की, प्रमिला कुलुजु, गणेशबहादुर विश्वकर्मा, मनिष खनाल, हरिमोहन भण्डारी र राजन गौतमले धारणा राखेका थिए।

छलफलका क्रममा सांसदहरूले स्वायत्त र सक्षम श्रम निरीक्षण प्रणाली विकास गर्न, दक्ष जनशक्ति तयार गरी श्रम प्रशासनलाई थप प्रतिस्पर्धी, पारदर्शी र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

उनीहरूले श्रेणीविहीन कर्मचारीको सेवा–सुविधा वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै अस्थायी तथा करार कर्मचारी हटाउने सरकारी तयारीप्रति समेत चिन्ता व्यक्त गरे।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले महासन्धि नं. ८१ को अनुमोदनसँगै नेपालको श्रम निरीक्षण प्रणाली थप सुदृढ हुने र श्रमिकको अधिकार संरक्षण प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार १८:५४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।