Logo

राजनीति

अब उत्पादन मात्र होइन, भरपर्दो आपूर्ति र वितरणमा केन्द्रित हुनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत उत्पादनमा उल्लेखनीय प्रगति गरिसकेको अवस्थामा अब सरकारको प्राथमिकता उत्पादन मात्र नभई भरपर्दो आपूर्ति, प्रसारण र वितरण प्रणालीको सुदृढीकरणमा केन्द्रित भएको बताएका छन्।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा देशमा विद्युतको अभाव रहेकाले उत्पादन बढाउन केन्द्रित हुनुपरेको बताए ।

उनले भने, ‘विगतमा विद्युतको उच्च आवश्यकता रहेको स्थितिमा हामी उत्पादनतर्फ बढी केन्द्रित भएका थियौँ। यतिबेला हामी हाम्रो मागको अनुपातमा आपूर्ति गर्न सक्ने स्थितिमा पुगेका छौँ। त्यसैले अब उत्पादनसँगै दिगो आपूर्ति र वितरणमा केन्द्रित हुनुपर्ने बेला आएको छ।’

विद्युतको माग हरेक वर्ष बढ्दै गएको उल्लेख गर्दै उनले वर्तमान पूर्वाधार त्यसअनुसार विस्तार हुन नसकेको बताए।

उनले भने, ‘नागरिकको जीवनशैलीमा आएको परिवर्तन, आवश्यकता र व्यावसायिक प्रतिष्ठानहरूको वृद्धिका कारण हरेक वर्ष विद्युतको माग बढ्दै गएको छ। माग र आपूर्तिबीच सन्तुलन कायम गर्न उत्पादनसँगै पूर्वाधारको विकास र स्तरोन्नति अहिलेको प्रमुख आवश्यकता हो।’

जीर्ण तथा न्यून क्षमताका प्रसारण र वितरण पूर्वाधारकै कारण पर्याप्त विद्युत उपलब्ध हुँदाहुँदै पनि पछिल्ला दिनमा विद्युत आपूर्तिमा समस्या देखिएको उनको भनाइ थियो।

उनले भने, ‘पर्याप्त विद्युत हुँदाहुँदै पनि जीर्ण र न्यून क्षमताका विद्युतीय पूर्वाधारका कारण पछिल्ला केही दिनमा विद्युत कटौतीको समस्या हामीले देख्यौँ र भोग्यौँ। त्यसैले वर्तमान सरकारको ध्यान विद्युतीय पूर्वाधारको विकास र स्तरोन्नतिमा केन्द्रित छ।’

मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत करिब ८० अर्ब रुपैयाँ विद्युतीय पूर्वाधार विकासमा खर्च गर्ने योजना बनाइएको जानकारी दिए। साथै, नेपाल विद्युत प्राधिकरणले पनि आफ्नो आन्तरिक स्रोतबाट पूर्वाधार विस्तारमा ठूलो लगानी गर्ने तयारी गरिरहेको उनले बताए।

सरकारले उत्पादन, प्रसारण, वितरण, खपत र ऊर्जा व्यापारलाई एउटै रणनीतिक ढाँचामा अघि बढाइरहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षभित्र रणनीतिक महत्वका १२ वटा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिए।

उनले भने, ‘यस आर्थिक वर्षको अन्त्यसम्म ६६ केभी र सोभन्दा माथिका प्रसारण लाइनको लम्बाइ करिब ७ हजार ४८ सर्किट किलोमिटर पुग्नेछ। आगामी वर्ष थप ८ सय सर्किट किलोमिटर विस्तार गर्ने लक्ष्य छ।’

जलविद्युत आयोजनाले केवल विद्युत उत्पादन मात्र नगरी स्थानीय आर्थिक, सामाजिक र शैक्षिक विकासमा समेत योगदान पु¥याउने भएकाले त्यस पक्षलाई पनि समाचारमा प्राथमिकता दिन सञ्चारकर्मीलाई उनले आग्रह गरे।

मन्त्री श्रेष्ठले सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ कार्यान्वयनमा ल्याइसकेको जानकारी दिँदै हाल करिब ४६० किलोवाट घण्टा रहेको प्रतिव्यक्ति विद्युत खपत आगामी १० वर्षभित्र १ हजार ५ सय किलोवाट घण्टा पु¥याउने लक्ष्य रहेको बताए।

आन्तरिक विद्युत खपत बढाउँदै वर्षायाममा बचत हुने विद्युत अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यात गर्ने नीति सरकारले अघि बढाएको उनको भनाइ थियो।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले सीमापार प्रसारण पूर्वाधार विस्तार र ऊर्जा व्यापारमा भएका निर्णयले नेपालको ऊर्जा बजार विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सरकारले पहिलोपटक ऊर्जा व्यापारमा उदारीकरणको नीति अवलम्बन गरेको जानकारी दिँदै उनले अब निजी क्षेत्रले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न सक्ने कानुनी व्यवस्था गरिने बताए।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार २१:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।