काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गरेका छन्।
अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार सुरु भएको बैठकमा बजेट कार्यान्वयनसँग सम्बन्धित प्रमुख मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी छन्। बैठकको अध्यक्षता अर्थमन्त्री डा. वाग्लेले गरिरहेका छन्।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको अर्थ मन्त्रालयले जनाएको छ।
बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश कार्यक्रम तथा योजनाको कार्यान्वयन अवस्था, मन्त्रालयगत जिम्मेवारी, लक्ष्य प्राप्तिका चुनौती तथा समाधानका उपायबारे छलफल हुने जनाइएको छ।
अर्थ मन्त्रालयका अनुसार बजेटको प्रभावकारी कार्यान्वयन, अन्तरमन्त्रालय समन्वय सुदृढ गर्ने तथा विकास खर्चको गति बढाउने उद्देश्यले मन्त्रालयगत छलफलको श्रृंखला सुरु गरिएको हो। बैठकबाट बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन र कार्ययोजना तय गरिने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया