काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय व्यापार, लगानी र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा ई–रेने र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच काठमाडौंस्थित चेम्बर भवनमा भएको भेटवार्तामा दुई संस्थाबीचको सम्बन्धलाई संस्थागत रूपमा अघि बढाउने सहमति भएको हो।
छलफलमा नेपालको सुदृढ बन्दै गएको राजनीतिक स्थायित्व तथा भारत र चीनबीचको रणनीतिक भौगोलिक अवस्थाले व्यापार र लगानी विस्तारका लागि अनुकूल वातावरण सिर्जना गरेको उल्लेख गर्दै सन् २०२६ को अन्त्य वा २०२७ को प्रारम्भसम्म दुई चेम्बरबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्ने तयारी गरिएको जनाइएको छ।
स्पेनिश चेम्बर अफ कमर्सले सन् २०२७ को फेब्रुअरी–मार्चमा आठदेखि नौ स्पेनी कम्पनी सहभागी हुने व्यावसायिक प्रतिनिधिमण्डल नेपाल पठाउने योजना पनि सार्वजनिक गरेको छ।
उक्त भ्रमणका क्रममा नेपाली र स्पेनी व्यवसायीबीच ‘बिजनेस–टु–बिजनेस’ (बीटुबी) भेटघाट तथा लगानीका सम्भावनाबारे केन्द्रित व्यवसायिक फोरम आयोजना गरिने बताइएको छ।
भेटवार्तामा व्यापार तथा लगानी प्रवर्द्धनका लागि सरकारी तहको सहकार्य प्रभावकारी बनाउने, व्यवसायिक भिसा प्रक्रियालाई सहज बनाउने, उच्चस्तरीय भ्रमणलाई प्रोत्साहन गर्ने तथा युरोपेली संघ (ईयू) र भारतबीच जारी व्यापार वार्ताबाट नेपालले लिन सक्ने अवसरको उपयोगबारे पनि छलफल भएको थियो।
दुवै पक्षले नवीकरणीय ऊर्जा, जलविद्युत्, सौर्य तथा वायु ऊर्जा, जल व्यवस्थापन, स्मार्ट सिटी, यातायात पूर्वाधार, पर्यटन तथा आतिथ्य, कृषि तथा खाद्य प्रशोधनलाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने सहमति जनाएका छन्।
बैठकमा नेपालबाट अर्थोडक्स चिया, अर्गानिक कफी, ठूलो इलाइची, जडीबुटी तथा सुगन्धित वनस्पति, अत्यावश्यक तेल, पश्मिना, हस्तनिर्मित गलैंचा, हस्तकला सामग्री, हस्तनिर्मित कागज, चाँदीका गरगहना, अर्गानिक मह र बाँसजन्य उत्पादनको निर्यात सम्भावना रहेको उल्लेख गरिएको थियो।
त्यस्तै, स्पेनले नवीकरणीय ऊर्जा, सिँचाइ, कृषि उपकरण, स्वास्थ्य उपकरण, पानी प्रशोधन तथा पर्यटन व्यवस्थापनमा आफ्नो प्रविधि र अनुभव नेपालसँग साझेदारी गर्न सक्ने विश्वास व्यक्त गरेको छ।
दुवै चेम्बरले म्याड्रिड, बार्सिलोना र काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सक्रिय सहभागिता जनाउने तथा डिजिटल व्यापार र ई–कमर्समार्फत व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा पनि जोड दिएका छन्।
छलफलमा दक्षिण एसियामा अनुभव हासिल गरेका स्पेनी कम्पनीहरू नेपालको पूर्वाधार विकास, स्वच्छ ऊर्जा र दिगो लगानीसम्बन्धी परियोजनाका लागि उपयुक्त साझेदार बन्न सक्ने विषय पनि उठाइएको थियो।
भेटवार्ताको अन्त्यमा दुवै पक्षले संस्थागत सहकार्य, नियमित व्यवसायिक भ्रमण र निजी क्षेत्रबीचको साझेदारीलाई थप सुदृढ बनाउँदै आगामी वर्षहरूमा नेपाल–स्पेन व्यापार तथा लगानी सम्बन्धलाई उल्लेखनीय रूपमा विस्तार गर्न सकिने विश्वास व्यक्त गरेका छन्।




















प्रतिक्रिया