काठमाडौं । सामाजिक सुरक्षा कोष (एसएसएफ)मा आर्थिक वर्ष २०८२/८३ को असारसम्म कुल १ खर्ब १६ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ योगदान रकम जम्मा भएको छ।
कोषका अनुसार यस अवधिसम्म २३ हजार ४९० रोजगारदाता र ३० लाख ४३ हजार २०० योगदानकर्ता सूचीकृत भएका छन्। कोषले हालसम्म विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत २१ अर्ब २७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।
दाबी भुक्तानीमध्ये औषधोपचार, स्वास्थ्य तथा मातृत्वतर्फ ३ अर्ब ५२ करोड रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा ३० करोड ४६ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा ३८ करोड ४ लाख रुपैयाँ र अवकाश सुविधातर्फ १७ अर्ब ६ करोड रुपैयाँ वितरण गरिएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएसँगै योगदान रकम बढेको कोषले जनाएको छ। पेन्सन, स्वास्थ्य उपचारलगायत सामाजिक सुरक्षा कार्यक्रम विस्तार र उत्पादनमूलक क्षेत्रमा लगानी थालेपछि कोषप्रति आकर्षण पनि बढ्दै गएको छ।





















प्रतिक्रिया