काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले अमेरिकी अटो, मदिरा र दुग्धजन्य पदार्थमाथि अनुचित भेदभाव गरेको आरोप लगाउँदै अधिकांश क्यानेडियाली सामानहरूमा ५० प्रतिशत कर लगाएका छन्।
ह्वाइट हाउसले यो कर ३० दिनमा लागू हुने जनाएको छ। यो निर्णयले दुई देशबिचको सम्बन्धमा थप चिसोपन आउने तथा उच्च मुद्रास्फीति र आर्थिक अराजकताको जोखिम बढाउने चिन्ता व्यक्त गरिएको छ।
ट्रम्पले १९३० को व्यापार ऐनको धारा ३३८ अन्तर्गत भन्सार शुल्क सुरु गर्न तीन घोषणापत्रमा हस्ताक्षर गरेका छन्। यो नयाँ शुल्कले ऊर्जा उत्पादनहरू, पोटास, माछा र महत्त्वपूर्ण खनिजहरूलाई भने समेटेको छैन। अमेरिका-मेक्सिको-क्यानाडा सम्झौता (यूएसएमसिए) अन्तर्गत यसअघि करबाट सुरक्षित गरिएका वस्तुहरू यसमा पर्नेछन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले स्वतन्त्र र निष्पक्ष व्यापारको पक्षमा आफूहरू रहेको बताउँदै ट्रम्प प्रशासनसँग वार्ता गर्न तयार रहेको जानकारी दिएका छन्।
उनले भने, ‘यो व्यापार विवादले विशेष गरी अमेरिकामा परिवारहरूको लागि लागत बढाएको छ। क्यानाडा हाम्रा नागरिकहरूको पारस्परिक हितको लागि अमेरिकासँग बाँकी रहेका मुद्दाहरूलाई सम्बोधन गर्न गहन रूपमा संलग्न हुन तयार छ।’
ओन्टारियोका प्रिमियर डग फोर्डले सामाजिक सञ्जालमा लेख्दै यदि यी शुल्कहरू जारी रहे भने क्यानडाले पनि डलरको हिसाबले कडा जवाफ दिनुपर्ने बताएका छन्।
त्यस्तै क्यानेडियन चेम्बर अफ कमर्सकी सीईओ क्यान्डेस लाइङले यो कदम खेदजनक भएको बताउँदै ३० दिनको समयसीमाभित्र वार्ता अगाडि बढाउनुपर्नेमा जोड दिइन्।
स्वतन्त्रतावादी थिंक ट्यांक क्याटो इन्स्टिच्युटका उपाध्यक्ष स्कट लिन्सिकोमले यसलाई ट्रम्प ट्यारिफको लागि आणविक विकल्प भन्दै विश्वव्यापी अर्थतन्त्रमा ठूलो अनिश्चितता सिर्जना हुने बताए।
नोभेम्बरमा हुने मध्यावधि चुनावअघि आएको यो नयाँ शुल्कले ट्रम्पका लागि पनि गम्भीर राजनीतिक र आर्थिक जोखिम निम्त्याउन सक्ने विश्लेषण गरिएको छ।
यसअघि सर्वोच्च अदालतले आर्थिक आपतकाल घोषणा गरेर कर लगाउने अधिकार नभएको फैसला सुनाएपछि प्रशासनले आयात कर बढाउन अन्य कानुनी विकल्पहरू खोजिरहेको छ। एजेन्सी




















प्रतिक्रिया