काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी प्रोटोन इमास ५ सार्वजनिकसँगै देशभर आफ्नो बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गरेको छ।
कम्पनीले मंगलबार भक्तपुरको राधे-राधेमा अत्याधुनिक सुविधासहित नयाँ शोरुम तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार यो शाखा पूर्वाधार र सेवा सुविधाका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन शोरुम तथा सेवा केन्द्रमध्ये एक हो।
जगदम्बा मोटर्सले ग्राहकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले बिक्री तथा सेवा सञ्जाल विस्तारलाई तीव्रता दिएको जनाएको छ। कम्पनीका अनुसार प्रोटोन ब्रान्डप्रति बढ्दो ग्राहक विश्वासलाई मध्यनजर गर्दै देशभर सेवा पहुँच विस्तार गर्ने योजना अघि बढाइएको हो।
भक्तपुर शाखापछि आगामी सातादेखि वीरगन्ज, जनकपुर र नेपालगन्जमा पनि नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढीबाट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको थियो। नयाँ शाखा थपिएसँगै ग्राहकले देशका विभिन्न स्थानबाट प्रोटोनका सवारीसाधन खरिद, मर्मत तथा अन्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।
जगदम्बा मोटर्सले सन् २०१८ देखि नेपालमा प्रोटोन ब्रान्डका सवारीसाधनको आधिकारिक बिक्री वितरण गर्दै आएको छ। मलेसियाको राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोनले सन् २०१७ देखि चिनियाँ अटो निर्माता जिलीसँगको रणनीतिक साझेदारीपछि अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।
कम्पनीका अनुसार प्रोटोन इमास हाल मलेसियाको अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ भने नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि यसको उपस्थिति विस्तार भइरहेको छ।




















प्रतिक्रिया