Logo

अन्तर्राष्ट्रिय

अमेरिका–इरान युद्धः ढुवानीमार्ग अवराेधले महँगी बढ्ने चिन्ता, अमेरिकाकाे खर्च ३७ अर्ब डलर नाघ्याे



काठमाडौं। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि चर्किएको मध्यपूर्वी तनाव अझै साम्य हुने संकेत देखिएको छैन। पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच केही समय युद्धविराम भए पनि त्यो दीर्घकालीन बन्न नसकेको बताइएको छ।

११ दिनदेखि जारी युद्धका क्रममा अमेरिकाले इरानका सैन्य संरचनालाई लक्षित गर्दै हवाई आक्रमणलाई निरन्तरता दिएको छ। त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा रणनीतिक लक्ष्यहरूमा आक्रमण गरिरहेको जनाएको छ।

बुधबार बिहान पनि अमेरिकी सेनाले इरानका विभिन्न स्थानमा आक्रमण जारी राखेको बताइएको छ। यसले पाकिस्तानको पहलमा भएको युद्धविरामलाई जोगाउने कूटनीतिक प्रयासलाई थप कमजोर बनाएको विश्लेषण गरिएको छ।

यसअघि इरानी गृहमन्त्री एस्कन्दर मोमेनी कूटनीतिक पहलका लागि पाकिस्तान पुगेका थिए। उनले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर तथा प्रधानमन्त्री शेहबाज शरीफसँग भेटवार्ता गरेका थिए। भेटमा द्वन्द्व न्यूनीकरण र वार्ताको वातावरण बनाउने विषयमा छलफल भएको जनाइएको छ।

यद्यपि विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलमार्गको सुरक्षा र नियन्त्रणको विषयमा दुवै पक्षबीच कुनै सहमति हुन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ओभल अफिसमा बोल्दै वार्ताप्रति अमेरिकाको विशेष चासो नरहेको संकेत दिएका थिए।

द्वन्द्वका कारण होर्मुज जलमार्ग हुँदै हुने ढुवानी र व्यापार प्रभावित भएको छ। अमेरिकाले हवाई आक्रमण जारी राखिरहँदा इरानले जलमार्गमा सञ्चालनमा रहेको एउटा तेल ट्यांकरलाई पनि निशाना बनाएको दाबी गरिएको छ।

यसैबीच, तेहरानले बहराइन र कुवेतजस्ता अमेरिकी साझेदार मुलुकतर्फ पनि आक्रमण गरेको बताइएको छ। बढ्दो तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९२ अमेरिकी डलर नाघेको उल्लेख गरिएको छ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथका अनुसार इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७ दशमलव ५ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ। युद्धका क्रममा १८ अमेरिकी सैनिकको मृत्यु भएको तथा ५०० भन्दा बढी घाइते भएको दाबी पनि गरिएको छ।

उता, लाल सागर क्षेत्रमा इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियाविरुद्ध नाकाबन्दी घोषणा गरेपछि विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय व्यापार थप प्रभावित हुने चिन्ता बढेको छ।

 

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार ०७:५९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।